मनसुनको प्रभाव तीव्र: गण्डकी–कर्णालीसहित चार प्रदेशमा धेरै भारी वर्षाको चेतावनी

मनसुनको प्रभाव तीव्र: गण्डकी–कर्णालीसहित चार प्रदेशमा धेरै भारी वर्षाको चेतावनी

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ।

महाशाखाका अनुसार अहिले गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहितका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। साथै, कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र बागमती प्रदेशका थोरै स्थान तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। विशेषतः गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका धेरै स्थानमा र बाँकी भूभागका केही स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।

त्यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ।

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सोही प्रदेशहरूमा फेरि चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। विभागले वर्षासँगै हुन सक्ने सम्भावित बाढी, पहिरो र भूक्षयको जोखिमबाट सतर्क रहन आग्रह गरेको छ।