आज देशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

आज देशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको असरस्वरूप आज (बिहीबार) दिउँसो देशका पहाडी भू–भागहरूमा सामान्यतया बदली रहनेछ भने बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ।

देशका पहाडी क्षेत्रका केही स्थानहरूमा र अन्य भूभागका थोरै स्थानहरूमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यस्तै, पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ।

उच्च पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षासहित हिमपातको सम्भावना रहेको जानकारी दिइएको छ। साथै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्र तथा मधेश प्रदेशका केही स्थानमा हावाहुरी चल्न सक्ने सम्भावना छ।

आज राति पनि मौसममा परिवर्तन देखिनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। साथै, कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।

भारी वर्षाको सम्भावनाका कारण नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने, गेज डुबान, बाढी, पहिरो तथा भूक्षय जस्ता घटनाहरू हुन सक्ने जोखिम रहेको भन्दै महाशाखाले जनस्वास्थ्य, कृषि, यातायात तथा दैनिक जनजीवनमा हुन सक्ने असुविधाबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।