मौसम : कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

मौसम : कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

काठमाडौं : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ।
गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने मधेश प्रदेशमा आंशिक बदलीसहित मौसम प्रायः सफा देखिएको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कर्णाली, सुदूरपश्चिम र अन्य पहाडी भू–भागमा केही स्थानहरूमा तथा बाँकी भू–भागमा थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
त्यस्तै, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रहरूमा एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

उच्च–पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम वर्षा र हिमपात पनि हुन सक्ने अनुमान गरिएको छ। कोशी र मधेश प्रदेशका केही तराई भू–भागहरूमा हावाहुरी चल्ने सम्भावना पनि रहेको मौसमविद्हरूले जनाएका छन्।

आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा हुन सक्नेछ।
कोशी र बागमतीका हिमाली क्षेत्रहरूमा हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना पनि रहेको छ।

महाशाखाले विशेष गरी कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना औंल्याउँदै सतर्कता अपनाउन आह्वान गरेको छ।