मनसुनी वायुले ल्यायो बदलिँदो मौसम, हिमाली भेगमा हिमपातको संकेत

मनसुनी वायुले ल्यायो बदलिँदो मौसम, हिमाली भेगमा हिमपातको संकेत

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायु सक्रिय रहेको छ। यसको प्रभावस्वरूप अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ।

देशका पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी भू–भागका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानहरूमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ। साथै, उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना पनि रहेको छ।

त्यस्तै, रातिको समयको मौसम पूर्वानुमान अनुसार पनि देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना देखिएको छ।

उच्च पहाडी र हिमाली क्षेत्रमा भने हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना कायम रहेको महाशाखाले स्पष्ट पारेको छ। मौसममा देखिएको यो परिवर्तनसँगै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।