काठमाडौँ, ३० भदौ । कञ्चनपुरकी १३ वर्षकी बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको ५२ दिन बितिसक्दा पनि हत्यारा पत्ता लाग्न सकेको छैन । पन्तको न्याय र दोषीलाई कारबाहीको माग गर्दै ‘निर्मलाको निम्ति न्याय’ भन्दै आज देशव्यापी प्रदर्शन हुँदैछ ।
काठमाडौं लगायतका विभिन्न १६ स्थानबाट एकैपटक प्रदर्शन हुन लागेको हो । निर्मलालाई न्याय देऊ, बालबालिकामाथिको यौन हिंसा बन्द गर, दोषीलाई कारबाही गर लगायतमा पम्प्लेट बोकेर प्रदर्शन गरिने भएको बताइएको छ । निर्मला पन्तलाई न्यायका लागि दबाब दिन गाईघाटको पिपलचोकमा बिहान ८ बजे, मेलम्ची, हेलम्बु बसपार्कमा दिउँसो १ बजे, भरतपुरको चौबीसकोठीमा साँझ ५ बजे, नेपालगञ्जमा दिउँसो १ बजे, पोखराको मानवअधिकार चोकमा दिउँसो १ बजे, पाँचखाल काभ्रेको समाजकल्याण चोकमा बिहान ८ बजे, राजबिराजको भगवती मन्दिर नजिकै दिउँसो १ बजे प्रदर्शन हुँदैछ ।
त्यसैगरी इनरुवाको लोकतान्त्रिक चोकमा दिउँसो १ बजे, इटहरीको रेयूकाई चोकमा दिउँसो १ बजे, धरानको भानु चोकमा दिउँसो १ बजे, विराटनगरको ट्राफिक चोकमा दिउँसो १ बजे, तथा बिराट चोकमा दिउँसो १ बजे, दमकको दमक चोकमा दिउँसो १ बजे, झापाको अर्जुनधारामा दिउँसो १ बजे, काँकरभिट्टाको हनुमान मन्दिरमा बिहान ९ बजे र काठमाडौँको माइतीघर मण्डलामा दिउँसो १ बजे पनि प्रदर्शन हुँदैछ ।