राजनीतिसँगै कृषि पनि: पर्वतकी उपप्रमुख शोभा क्षेत्रीको प्रेरणादायी काँक्राखेती यात्रा

राजनीतिसँगै कृषि पनि: पर्वतकी उपप्रमुख शोभा क्षेत्रीको प्रेरणादायी काँक्राखेती यात्रा

पर्वत : निर्वाचित जनप्रतिनिधिहरूले राजनीति थालेपछि आफ्नो पेसा र व्यवसाय छाड्ने प्रचलनबीच पर्वतको फलेवास नगरपालिकाकी उपप्रमुख शोभाकुमारी क्षेत्रीले भने अपवाद प्रस्तुत गरेकी छन्। उपप्रमुख क्षेत्रीले नगर सेवा र कृषिकर्मलाई सँगसँगै अघि बढाउँदै, भक्तपुरे लोकल जातको काँक्राको बीउ उत्पादन गर्दै आइरहेकी छन्।

फलेवास नगरपालिका–१० कुर्घाकी क्षेत्रीले सात रोपनी क्षेत्रफलमा व्यावसायिक काँक्राखेती गर्दै हरेक वर्ष पाँचदेखि सात लाख रुपैयाँसम्मको बीउ बिक्री गर्ने गरेकी छन्। बीउ उत्पादनकै लागि गरिएको यो खेती उपभोगको लागि नभई गुणस्तरीय बीउको संरक्षण र प्रवर्द्धनमा केन्द्रित छ। उनको कृषिकर्मले गाउँका अन्य किसानलाई पनि व्यावसायिक खेतीतर्फ प्रेरित गरिरहेको छ।

उपप्रमुखको रूपमा निर्वाचित भएपछि व्यस्तता बढे पनि उनले गाईपालन छाडेर काँक्रा र अन्य तरकारीखेतीलाई निरन्तरता दिएकी छन्। उनका श्रीमान् सोमबहादुर क्षेत्री पनि खेतीपातीमा सक्रिय सहयोगी छन्। मौसम अनुकूल रहेकाले यस वर्षको उत्पादनमा वृद्धि हुने र आम्दानी अझै बढ्ने अनुमान गरिएको छ।

२०५६ सालदेखि कृषि पेसामा लागेकी क्षेत्रीले सुरूमा होटल व्यवसाय र किराना पसलबाट यात्रा थालेकी थिइन्। दूधको माग बढेसँगै गाईपालन सुरु गरिन् र २०७० सालमा चिर्दीमा चिसापानी दुग्ध सहकारी दर्ता गरी संस्थापक सचिवको भूमिका समेत निभाइन्। अहिले उक्त सहकारीमार्फत गाउँका झन्डै सात सय किसान व्यावसायिक गाईपालनमा संलग्न छन्।

टनेल खेतीमार्फत टमाटर तथा अन्य मौसमी तरकारी उत्पादन गर्ने क्षेत्रीले फुर्सदमा गोठ र खेतबारीमै समय बिताउने गर्छिन्। उनी भन्छिन्, “जनताको सेवामा खटिए पनि खेतीलाई छाडेकी छैन। कृषिमा सानो ठुलो हुँदैन, जे जहाँ हुन्छ, त्यसलाई व्यावसायिक बनाउने हो।”

क्षेत्रीको प्रेरणादायी यात्राले फलेवास नगरपालिका र वरपरका क्षेत्रका किसानहरूलाई कृषिको सम्भावना र सफलताको नयाँ बाटो देखाइरहेको छ। उनका अनुसार कुर्घा, देवीस्थान, पाङराङ र बाँच्छाका किसानले भक्तपुरे जातको काँक्राको बीउबाट वार्षिक ६ करोड रुपैयाँसम्म आम्दानी गरिरहेका छन्।

उनको सन्देश छ: “जनप्रतिनिधि शासक होइन, सेवक हो भन्ने सोच भए मात्रै सफल जनसेवा सम्भव छ। कृषि र सेवा सँगसँगै हिँड्न सकिन्छ, म यही गर्दै छु।”