

काठमाडौं : देशका धेरै ठाउँमा आगामी केही दिन हावाहुरी, मेघगर्जन र पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन् ।
अहिले गहुँ, मसुरो जस्ता बाली काट्ने समय भएकाले मौसमको पूर्वानुमान हेरेरै मात्र बाली काट्नुपर्ने मौसमविद्हरूको भनाइ छ ।
हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव देखिएको छ, जसको कारण वर्षा, हावाहुरी, चट्याङ र हिमपातको सम्भावना बढेको हो ।
मौसमविद् बिनु महर्जनका अनुसार वैशाख ४ गते विहीबार कोशी प्रदेशका एक–दुई स्थानमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ । अन्य प्रदेशका केही ठाउँमा भने हल्कादेखि मध्यम वर्षा हुनसक्छ । हिमाली क्षेत्रमा केही स्थानमा हल्का हिमपात पनि हुनसक्ने जनाइएको छ ।
वैशाख ५ गते शुक्रबार कोशी र बागमती प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । यस्तै, मधेश, गण्डकी र लुम्बिनी प्रदेशभरि तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रमा पनि हल्कादेखि मध्यम वर्षा हुनसक्ने अनुमान गरिएको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद्हरूले जनाएका छन् ।
मौसमविद् हरिप्रसाद दाहालले अहिले बाली काट्ने समय भएकाले मौसमको जानकारी लिएर मात्र काट्न आग्रह गरेका छन् । “देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना छ,” उनले भने, “मसुरो, गहुँ लगायतका बाली काट्नुअघि मौसमबारे जानकारी लिनु उत्तम हुन्छ ।”