शिक्षक महासंघद्वारा चैत २५ देखि देशव्यापी शैक्षिक हड्तालको घोषणा

शिक्षक महासंघद्वारा चैत २५ देखि देशव्यापी शैक्षिक हड्तालको घोषणा

काठमाडौं । शिक्षा ऐन जारी गरिनुपर्ने मागसहित आन्दोलनरत शिक्षकहरूले चैत २५ गतेदेखि देशव्यापी आम शैक्षिक हड्तालको घोषणा गरेका छन्। नेपाल शिक्षक महासंघको नेतृत्वमा हुने यो हड्तालका क्रममा देशभरका सबै विद्यालय बन्द गर्दै काठमाडौंको सडक आन्दोलनमा अनिवार्य सहभागिताको आह्वान गरिएको छ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले जारी गरेकाे विज्ञप्तिमा आन्दोलनलाई सशक्त बनाउन सबै शिक्षक–कर्मचारीलाई काठमाडौंमा उपस्थित हुन अनुरोध गरिएको छ।

२०८१ माघ २० गतेदेखि निरन्तर आन्दोलनरत शिक्षकहरू चैत २० गतेदेखि काठमाडौंमा प्रदर्शन गर्दै आएका छन्। उनीहरूले अहिलेको चरणलाई ‘अन्तिम र निर्णायक आन्दोलन’ को रूपमा चित्रण गरेका छन्।

शिक्षक महासंघले आन्दोलनको अवधिमा उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण लगायतका सम्पूर्ण शैक्षिक गतिविधिमा सहभागी नहुन पनि शिक्षकहरूलाई निर्देशन दिएको छ।

महासंघले गुणस्तरीय, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न सरकारसँग पुनः माग दोहोर्‍याएको छ।