अाज सातै प्रदेशका मुख्यमन्त्रीको भेला पोखरामा

अाज सातै प्रदेशका मुख्यमन्त्रीको भेला पोखरामा

पोखरा, भदौ २१ । आज सातै प्रदेशका मुख्यमन्त्रीहरुको भेला हुने भएको छ । आज हुने भेलामा प्रदेश सरकारले भोग्नुपरेका समस्या, संघ सरकारसँगका अपेक्षा लगायत विषयमा छलफल हुने बताइएको छ ।

अधिकार, प्रादेशिक संरचना, कर्मचारी, आयोजना लगायतका विषयमा संघीय सरकार अनुदार बनेको प्रदेशका मुख्यमन्त्रीहरुले बताइरहेका छन् । बैठकमा प्रदेशको आवाज एकै स्वरमा बुलन्द पार्नेगरी पोखरा भेलामा छलफल हुने बताइएको छ ।

सातै प्रदेशको अहिलेको अवस्था, खेप्नुपरेका समस्या, ठूला आयोजना, अनुदान लगायतका विषयमा मुख्यमन्त्रीहरुले भेलामा छलफल गर्ने छन् । अन्तर प्रदेश परिषदको बैठकको पूर्व सन्ध्यामा पोखरामा हुन लागेको यो भेलालाई महत्वपूर्ण रुपमा लिइएको छ ।

प्रधानमन्त्री अध्यक्ष रहने अन्तर प्रदेश परिषदको बैठक २४ भदौमा बस्न लागेको पूर्वसन्ध्यामा देशैभरको प्रदेशका सबै मुख्यमन्त्री पोखरामा भेला हुन लागेको हो । संघ सरकारले कानून निर्माण र कर्मचारी व्यवस्थापन नगरिदिँदा प्रदेशलाई काम गर्न अप्ठेरो परेको गुनासो मुख्यमन्त्रीहरुले गर्दै आएका छन् ।