काठमाडाैँ, १७ भदाै । नेपाल चिकित्सक संघले अाज देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन्।
संघले भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध (संहिता)मा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुसँग सम्बन्धित व्यवस्था खारेजीको माग गर्दै आइतबार एक दिन देशभरको आकस्मिक बाहेकका स्वास्थ्य सेवा ठप्प पार्ने र आगामी बुधबारदेखि आकस्मिकबाहेक देशभरका स्वास्थ्य संस्थामा शल्यक्रिया सेवा पनि बन्द गर्ने घोषणा गरेको छ। मुलुकी अपराध संहिता संशोधनको माग गर्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् ।
आजै डाक्टरहरुले नेपाल मेडिकल काउन्सीलमा लाइसेन्स फिर्ता गर्ने कार्यक्रम पनि राखेको संघका वरिष्ठ उपाध्यक्ष ढुण्डीराज पौडेलले जानकारी दिए । उनका अनुसार मुलुकी अपराध संहिता संशोधनको माग गर्दै आइतबार बिहान १० बजे माइतीघर मण्डलामा प्रदर्शन गर्ने र १२ बजेपछि काउन्सीललाई गएर आफ्नो लाइसेन्स फिर्ता गर्ने कार्यक्रम तय भएको छ ।
सरकारले डाक्टरलाई अपराधी र ज्यानमाराजस्तो व्यवहार गर्न खोजेको बताउँदै यो वातावरणमा काम गर्न नसकिने नेपाल चिकित्सक संघका महासचिव डा. लोचन कार्की बताउँछन् । भदौ एक गतेदेखि कार्यान्वयनमा आएको मुलुकी अपराध संहितामा उपचारका क्रममा डाक्टरको लापरवाहीले बिरामीको मृत्यु भएमा वा अंगभंग भएमा पाँच वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवानाको व्यवस्था संशोधनको माग चिकित्सकहरुले राख्दै आएका छन् ।
विरोधका कार्यक्रम:
भाद्र १८ गते सोमबार देशभरका स्वास्थ्य संस्थाका प्रशासनिक काम बन्द
भाद्र १९ गते मंगलबारदेखि आकस्मिक बाहेकका बिरामी भर्ना गर्ने कार्य बन्द
भाद्र २० गते बुधबारदेखि आकस्मिक सेवा बाहेकका अन्य अपरेसनहरु बन्द
भाद्र २१ गते बिहीबारदेखि आकस्मिक सेवा बाहेकका ल्याब तथा रेडियोलोजी सेवा बन्द
भाद्र २२ गते शुक्रबारदेखि आकस्मिक बाहेकका ओपिडी लगायत सम्पूर्ण स्वास्थ्य सेवा बन्द