बिमस्टेकमा यस्तो रहनेछ सुरक्षा घेरा, हेलिकोप्टरबाट पनि निगरानी

बिमस्टेकमा यस्तो रहनेछ सुरक्षा घेरा, हेलिकोप्टरबाट पनि निगरानी

काठमाडाैं, १२ भदाै । गृह मन्त्रालयका अनुसार बिमस्टेक सम्मेलनमा तीन सुरक्षा घेरा हुनेछ । सबैभन्दा भित्री घेरामा नेपाली सेना खटिनेछ । दोस्रो घेरामा नेपाल प्रहरी र तेस्रोमा सशस्त्र प्रहरीको सुरक्षा हुनेछ । राष्ट्रिय अनुसन्धान विभागका गुप्तचर सिभिलमा तीनवटै घेरामा छरिएर रहन्छन् । सेना, प्रहरी र सशस्त्रका ‘इन्टेलिजेन्स’ टोली पनि सादा पोसाकमा खटिनेछन् । यसबाहेक भिभिआइपीले आफूसँगै ल्याउने सुरक्षाकर्मी पनि खटिनेछन् । उनीहरू हतियारसहित हुनेछन् । तर, नेपाली सुरक्षाकर्मीकै योजनाअनुसार परिचालित हुन्छन् । याे खबर अाजकाे नयाँ पत्रिका दैनिकबाट लिएका हाैँ ।

सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीले बिमस्टेक सम्मेलनका लागि आवश्यक सुरक्षा प्रबन्ध पूरा भएको बताए । उनले भने, ‘भिभिआइपी र भिआइपीको सुरक्षा प्रबन्ध सेनाको कमान्डमा हुँदै आएको छ । यसपटक पनि सोही विधिअनुसार सुरक्षा प्रबन्ध मिलाइएको छ । यसको संयोजन भने गृह मन्त्रालयबाट भएको छ । सुरक्षा प्रबन्धका लागि कुनै कसर बाँकी राखिएको छैन ।’

महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रमुख डिआइजी मनोज न्यौपानेले सुरक्षा घेरा तीनभन्दा अझ धेरै पनि हुन सक्ने बताए । सम्मेलन अवधिभर सम्मेलनस्थल तथा भिभिआइपी आवागमन क्षेत्रमा सेनाले हवाई गस्ती गर्नेछ । सैनिक प्रवक्ता गोकुल भण्डारीले भने, ‘बिमस्टेक सम्मेलन अवधिभर हवाई प्याट्रोलिङ हुनेछ । विशेषगरी सम्मेलनस्थल तथा भिभिआइपी आवागमन गर्ने क्षेत्रमा हवाई गस्ती हुनेछ ।’