एक बिर्को सोमरसले पुर्‍यायो उपल्लो मुस्ताङ…

एक बिर्को सोमरसले पुर्‍यायो उपल्लो मुस्ताङ…

सिङ्गो पहाड नै मन्दिर, गुम्बा, चर्च र मस्जिद बनेर आसानसँग मिलेर बसेका छन् प्रकृतिले त कुनै धर्म, जातजाती, लिङ्ग र वर्ग बीच भेदभाव र विभेद गरेको छैन । उपल्लो मुस्ताङमा दैनिक तीनदेखि चार हजार खर्च गर्दा बस्न सकिने रहेछ । त्यहाँका स्थानीयले स्थानीय भाषा र पोषकको संरक्षण, एकिकृत बस्ती, सामुहिकतामा बिश्वास गरेको देख्दा मनै आनन्दित भयो ।

-बिष्णु गिरी ‘निश्चल’-

मुक्तिनाथको स्पर्स गरेपछि हामी मुस्ताङ जिल्ला घरपझोङ गाउँपालिकामा बित्तिय साक्षरता सम्बन्धी कार्यक्रममा सहभागिता जनाईयो । स्थानीय विद्यालय गाउँपालिकाका कर्मचारी गाउँपालिकाका उपप्रमुख वडा अध्यक्षहरु लगायतको ४० जना जतिको सहभागितामा भएको कार्यक्रममा मैले पनि आफ्नो प्रस्तुति दिए । राकेस श्रीस प्रदिप कंडेलले पनि प्रस्तुति दिनुभयो भने पछाडि बसेर हाम्रो हरेक कार्यलाई सफल बनाउन होम थापाको लोभलाग्दो सक्रियता थियो । जुन कार्यक्रमको संयोजन गाउँपालिकामा कार्यरत मित्र राजन कंडेल र आशिष भण्डारीले गर्नुभएको थियो । कार्यक्रम सफल भएपछि हामीले सँगै खाना खायौं र उपल्लो मुस्ताङ कोरला नाका जाने योजना बन्यो ।

कार्यक्रमको थकानसँग हामीले सोमरस पनि पियौं । गाउँपालिकाका साथीहरुसाथमा उपल्लो मुस्ताङको यात्रा तय गरियो चार जनाको काठमाडौंको यात्रा जोमसोमबाट ३ जना थप गरि ७ जनाको टोली बेलुका ५ बजेतिर उपल्लो मुस्ताङको लागि हिडियाे । मित्र आशिष भण्डारीले दिएको जानकारीअनुसार कालीगण्डकी करिडोर (राष्ट्रिय गौरबको आयोजना) बन्ने तयारीमा छ । उपल्लो मुस्ताङ जानलाई बिदेशीलाई अनुमति लिनु पर्छ र त्यसको लागि शुल्क समेत तिर्नु पर्छ तर नेपालीलाई भने निःशुल्क यात्रा गर्न मिल्छ ।

लोमान्थाङ हाम्रो लागि नितान्त नयाँ गन्तव्य थियो । बुच्काबुच्की, भीर, डाँडा, पाखा, नदीनालाका दुश्य र परिदृश्यहरू हाम्रो लागि सबै नयाँ । त्यसैले, जतिसक्दो त्यहाँको मन र माटो छाम्दै खोतल्दै यात्रालाई जीवन्त र परिपक्व बनाउनु थियो । काग खोला तरेपछि अगाडि राँकियो गाडी । पहाडहरू खण्डहर मरुभूमिजस्तो देखिन्थे । कालीगण्डकी पारि पश्चिम किनारामा दुईवटा पहाडहरूको फेदीमा अवस्थित थियो एक सानो, अति सुन्दर र हरियालीले ढकमक्क तिरी गाउँ । तिरी गाउँमा खेतीपाती गरिने गराहरू विभिन्न पुस्ताका फलफूलका रुखहरूले ढकमक्क देखिन्थ्यो । त्यसपछि हामी पहाडी मरुभूमिभित्र प्रकृतिले कुँदेका रङ्गीबिरङ्गी चित्रहरू खोतल्न अगाडि बढ्दै गयौँ । कालीगण्डकीले बगरको बिस्कुन सुकाइरहेकी थिईन् । पहाड होचिँदै थिए । प्राकृतिक दृश्यहरू हरियालीविहीन भए तापनि शब्दले बयान गर्नै नसकिने अति नै सुन्दर देखिन्थे । बादल पनि डाँडाको चुचुरो भागतिर टाँसिएर हिउँजस्तै देखिने । सीधा अगाडि बढ्दै थियौँ, एउटा पहाड ठ्याक्कै इजिप्टको पिरामिडजस्तै सुन्दर आकृति र शैलीमा ठिङ्ग अगाडि उभिएको दृश्यले मनै घुमाइदियो भीर, पाखा तथा पखेरामा बुच्काबुच्की बिरुवाहरू, ढुङ्गा माटो बाहेक केही थिएन त्यहाँ । पहाडहरूमा हावा र हल्का वर्षादले निरन्तर कुँदिरहेको अलौकिक र अद्भूदको चित्रकला भन्दा कम थिएनन् प्राकृतिक पहाडमा आफै कुदिएका आकृतिहरु । हिन्दु भएर हेर्दा देखिन्थे अनगिन्ती मन्दिर तथा मूर्तिहरूका आकृति हनुमान, राम, सिता, रावण यता बुद्ध बनेर हेर्दा त्यहाँ प्रशस्त बुद्धका गुम्बा, छोर्तेन, मानेपेमे, ध्वजापताका र झण्डाहरू देखिन्थे । जति अगाडि बढ्यो, त्यति जादूमयी पहाडी श्रृङ्खलाहरूले मन तथा नयनका दुईवटा नानीलाई एकटकले तानेको थियो ।
छिनछिनमा मानिसको मन, सोँचाइ र हेराई बदल्दै । कतै देखिन्थ्यो सिङ्गो पहाड नै मन्दिर, गुम्बा, चर्च र मस्जिद बनेर आसानसँग मिलेर बसेका । लाग्दथ्यो, प्रकृतिले त कुनै धर्म, जातजाती, लिङ्ग र वर्ग बीच भेदभाव र विभेद गरेको छैन ।

यात्राको क्रममा कहिले दोहाेरी गाउँदै त कहिले रमाईलो कुराकानी गर्दै हाम्रो यात्रा अगाडि बढ्यो । मुस्ताङमै कार्यरत साथीहरु साथमा भएको र वहाँहरुले धेरै चोटी उपल्लो मुस्ताङको यात्रा गर्नु भएकोले हामीले कुनै कुराको असहजता भएन । जुन ठाउँ पुग्यो त्यसकाे बर्णन वहाँहरुले गरिहाल्नु हुन्थ्यो । मित्र आशिष भण्डारीले दिएको जानकारी अुनसार उपल्लो मुस्ताङ्गको बासिन्दाको मुख्य आम्दानी होटल ब्यबसाय पशुपालन तथा खेती नै रहेछ । उजाड पहाडमा पनि उवा फापर फल्दो रहेछ भण्डारीकाअनुसार उपल्लो मुस्ताङको होटलको लागि चाहिने सबै सामग्री पोखराबाट आउने रहेछ । हामी भिडियो फोटो खिच्दै स्वगको अनुभुति गदै गर्दा हामी छुसाङ पुगियो, जुन कालीगण्डकी र नर्साङ खोलाको संगम पनि थियो । कताकति डाँडाहरूमा हरियालीको जुँगारेखि देखिन थालेको थियो भने कतै त उही मरुभूमिजस्तै फुस्रा र नग्न स्वरुप । बाटोको देब्रेतिर पहाडको चुचुरातिर हिँउले बास जमाएकै थियो र पो देखिन्थ्यो सेताम्यै र सुन्दर रूपमा पहाडका टुप्पाहरू । हामी घ्याकर, समर, भेना, साङ्बोचे, घिलिङ्, जैते, घमी, चराङ्ग हुँदै लोमान्थाङ पुग्यौँ ।

लोमानथाङ एक अलौकिक सुन्दरता र पृथक भौगोलिकता भएको विशाल उपत्यकामित्र ठूलो पर्खालभित्र फैलिएको माटोको शहर रहेछ । जहाँ, कृषि कर्म गरिने, मानेपेमे, गुम्बा, गुफा, दरबार, प्राचिन संस्कृतिले अड्डा जमाएर बसेका रहेछन् । विश्व सम्पदामा सूचिकृत विशेष संरक्षित क्षेत्र रहेछ । यो साविकको लोमानथाङ, छोसेर र छोन्हुप गाउँ विकास समितिहरू मिलाएर बनेको गाउँपालिका रहेछ । त्यसपछि हामी त्यहाँको पूर्व राजाको दरबार हेर्न गयौँ । चौधौँ सताब्दीमा तत्कालीन राजा आङ्देन साङ्वो विष्टको पालामा निर्माण गरिएको रहेछ । यो दरबारले करीब दुई रोपनी पाँच आना क्षेत्रफल ढाकेको रहेछ, जसमा पाँच तलामा गरी एक सय आठ कोठाहरू रहेछन् । अक्सिजनको कमीले स्वासप्रस्वासमा अप्ठ्यारो महशुस भयो । त्यसपछि, मैले अदुवा र लसुनको जोहो जोमसोमबाटै गरेको थिए । अदुवा र लसुन चुस्तै निरन्तर यात्रा अगाडि बढीरह्यो । स्थानीय खाना मुस्ताङे आलुको तरकारी, दाल, अण्डा, टिम्मुरको छोप निकै स्वादिलो थियो । खाना पीरो र नुन चर्को पनि थिएन । खानापछि होटलवालासँग एकछिन कुराकानी गरियो । राती सुत्दा कोठाको सबै झ्याल र ढोकाहरू बन्द गर्दा अक्सिजनको अभावले स्वासप्रश्वासमा समस्या आउला भनेर झ्याल केही खुला राखेकोले खासै समस्या भएन ।

हाम्रो यात्रा निरन्तर आशिष भण्डारीले त्यहाँको बस्तुस्थतिको बारेमा जानकारी गराउदै गर्दा यात्रा रमाईलो बन्दै गयो । बेला बेलामा साथीहरुको जोक देशको राजनीतिक आर्थिक र सामाजिक कुराहरुले थप रोमाञ्चित बन्दै गयो । आशिष भण्डारीले यात्राको क्रममा उपल्लो मुस्ताङमा दैनिक तीनदेखि चार हजार खर्च गर्दा बस्न सकिने रहेछ । त्यहाँका स्थानीयले स्थानीय भाषा र पोषकको संरक्षण, एकिकृत बस्ती, सामुहिकतामा बिश्वास गरेका बताउँदा मनै आनन्दित भयो ।

त्यहाँबाट कोरला नाका (नेपाल–चीन सीमा) तर्फ बिहान करीब ८ बजे प्रस्थान गर्‍यौँ । लोमानथाङबाट देब्रे र दाहिने गरी दुईवटा बाटोहरू रहेछन् । देब्रेतिरको बाटो अलि सहज र छोँटो भएकाले हरी दाई हामीलाई त्यहीको बाटाबाट यात्रा शुरु गरियो । पहाड तथा डाँडाहरू खरिखुण्ड नाङ्गो र कताकति काँडेदार बिरुवाका बुच्का बुच्कीहरूले ढाकेको थियो । मानव बस्ती वरिपरि भोटेपिपलकै बाहुल्यता थियो । तर मानव बस्ती पातलो थियो । अग्ला र नाङ्गा डाँडाहरूको कच्ची बाटोमा कहिले उकाली त कहिले ओराली, कहिले तेर्सो त कहिले नागवेली घुम्तिमा धुलो उडाउँदै अगाडि बढ्दै गयौँ । नेचुङ्ग पुग्यौँ जहाँ नेपालको भन्सार, क्वारेन्टिन, सशस्त्र प्रहरी बल, नेपाल बी.ओ.पी.को कार्यालय स्थापना भएको रहेछ । त्यहाबाट नाका पुग्न १४ किलोमिटर रहेछ । त्यती टाढा किन भन्सार कार्यालय रोखेको होला भन्नेर मनमा जिज्ञासा आयो ।

केहिछिनमा हामी उकालो उक्लँदै जाँदा च्याङ्ग्राका ठूलो हुल जमीनमा थुतुनो जोत्दै जीउने संघर्षमा चरिरहेको देख्यौँ निरन्तरको यात्रा पछि ४,६१० मिटरको उचाईमा अवस्थित नेपाल–चीन सीमामा पुग्यौं । यो क्षेत्र निकै नै फराकिलो, समथर, सुन्दर र रमणीय थियो । हावाको बहाव निकै नै तेज थियो । केही युवा युगलहरू सारा पीडा भुलेर टिकटक, अङ्कमाल र भिडियो बनाउन व्यस्त थिए भने कोही नेपाली झण्डा बोकेर फोटो खिच्न ब्यस्त थिए । मैदानको बीचमा नेपाल र चीनको सीमा क्षेत्र छुट्याउने नेपालको तर्फको प्रतिनिधित्व गर्दै वि.सं. २०१९ मा निर्मित २४ नम्बरको एक्लो टिठलाग्दो फुच्चे सीमा स्तभ्म मात्र थियो ।

नेपाल तर्फको दशगजा क्षेत्र खुल्ला छ भने चीनको क्षेत्र भने तारबारले घेरिएकोले प्रवेश बन्द गरिएको छ । चीनभित्र लोभलाग्दो पूर्वाधारहरू जस्तै सीमा सुरक्षा बल, भन्सार, अध्यागमन कार्यालय र कर्मचारी आवाश भवनहरू थिए भने नेपाल तर्फ खुल्ला थियो । सुरक्षाको लागि दुई जना सशस्त्र प्रहरी बाहेक अरु केही देखिएन । नेपालतर्फ भने पूर्वाधार विकासको लागि सीमामा कुनै कार्यको छनक नै पाइएन । नेपालतर्फ त झरी तथा हिँउ परेमा ओत लाग्ने न त एक कटेरो नै छ न त स्वास्थ्य, सुरक्षा तथा भोकप्यास मेटाउने कुनै ठाउँको व्यवस्था छ । चीनले एक दिनमा एक जना मात्र जान पाउने र गाडी लैजान नदिने नियम बनाएको छ । झोला र बोरामा अटाउने सामान ल्याउने सकिने रहेछ । कोरला घुम्न आउने पर्यटक र व्यापारीका लागि छोसेरका व्यवसायीले त्रिपालको अस्थायी टहरा बनाएर चिया तथा खाजा पसल सञ्चालन गरेका छन् । चिनियाँ बजारबाट स्थानीयवासीले दैनिक उपभोग्य, मदिरा, फर्निचर र कपडाजन्य सामान किनेर ल्याउने गरेका छन् । हाल चीनबाट आयात मात्र भएको छ । नेपाली सामान निर्यात हुन सकेको छैन । चीनतर्फ निर्मित भवनभित्र पसलहरु छन् ।

हाम्रो टोलिले फोटो खिच्यौं भिडियो बनायौं त्यहाँ ब्यापार गरेर बसेका नाङ्लो पसलेसँग कुराकानी गरयौं र चिनियाँ केही चक्लेट किनेर रमाईलो अनुभव संगाल्दै मनले बिदा नदिँदा नदिँदै पनि एकछिनमा नै हाम्रो त्यहाँको बसाईलाई समाप्त गर्दै फेरी फकियौं । फर्किनेक्रममा हामी छेसर गुफा हेर्नको लागि नेचुङ कटेपछि देब्रेतिरको अर्कै बाटो लाग्यौं र केही समयमानै छेसर गुफामा पुग्यौँ । गुफा त नितान्त फरक कलात्मक प्रकृतिको । गुफा पहाडभित्र खोपेर बनाइएको पाँच तलाको मजबुद, अलौलिक, अद्भूत र विचित्रको रहेछ । पाँचलताको गुफामा विशेषता भनेको भर्‍याङ बाहेक अन्य बनावट पूर्ण रूपमा पहाडकै भाग थियो ।

गेटमा घामको पार ताप्दै लमतन्न परेर सुतेका एक बृद्धले निगरानी राख्दा रहेछन् त्यो गुफा । हामी ७ जनाको लागि प्रति व्यक्ति रु. १०० का दरले टिकट लियौँ । पाँचै तलाका विभिन्न आकार प्रकारका होँचा र ध्वाँसे कोठाहरू निहुरिँदै घुम्यौ फोटो खिच्यौ । धेरैजसो कोठाहरू अन्धकार थिए, त्यसैले त्यहाँ हेर्नको लागि बत्ती बाल्न पर्ने । त्यसपछि हामी लोमान्थाङतिर लाग्यौँ । कालीगण्डकीले बगरको बिस्कुन सुकाइरहेकी थिईन् । पहाड होचिँदै थिए । आकाश फराकिलो बन्दै थियो । बादलसँगै लाप्पा खेल्दै हाम्रो यात्रा निरन्तर चलिरहयो । हामीले जोमसोमबाट आएका साथीहरुलाई जोमसोममै छोडेर हामी म्यादीको तातोपानीमा बस्ने तयारीका साथ यात्रालाई निरन्तरता दियौ र साझ ७ बजे तिर म्यादीको तातोपानी पुग्यौं र नमस्ते गेष्ट हाउसमा बस्यौं र बेलुका तातोपानीमा डुबुल्की मार्यौं । यात्राकोक्रममा मोटरसाईकलको यात्रा दुईदुई जना, कतिपय ठाउँमा सिंगल । त्यति धेरै गाडी चल्दासमेत पर्यटकहरु १० बर्षदेखि ९० बर्षसम्मका पर्यटकहरु पैदल यात्रा गरिरहे, लौरो र गाईडको सहारामा हिडिरहेको देख्दा मन रोमाञ्चित भयो । पृथक र मनमोहक दृष्य, जता फर्के पनि देखिने हिमाल, तालतलैया, हिमाली जिवनशैली, गुफा, गुम्बा मुस्ताङको आकर्षण हो ।