‘महाकाली सन्धिमा गुप्त खेलका डिजाइनर केपी ओली थिए’

‘महाकाली सन्धिमा गुप्त खेलका डिजाइनर केपी ओली थिए’

महाकाली सन्धिको विरोधमा जाँदा अन्ततः पार्टी फुट्छ भनेर मैले धेरैपटक साथीहरूसँग कहेँ । राष्ट्रवाद र राष्ट्रघातजस्तो गम्भीर विषय उठिसकेपछि पार्टी एक ढिक्का भइरहन गाह्रो पर्नु स्वाभाविकै हो ।

नेपालगञ्जमा हुन गइरहेको छैटौं महाधिवेशनको मिति नजिकिँदै थियो । मैले माधवकुमार नेपालसँग महाकालीको मुद्दा उक्त महाधिवेशनमा ल्याउँदा पार्टी फुट्छ भनेर ठोकुवा गरेको थिएँ । त्यसैले महाधिवेशनमा महाकालीको मुद्दालाई मुख्य मुद्दा नबनाउन आग्रह गरें ।

फरक मत राख्ने साथीहरूसँग म कुरा गर्छुसम्म भनेको थिएँ, माधवसँग । केन्द्रीय समितिको संख्यामा मिलाएर भए पनि महाकाली सन्धिको मुद्दालाई महाधिवेशनमा मूल विषय नबनाउन पटक-पटक प्रस्ताव गरें । मेरो अर्को भनाइ थियो, ‘फरकमत राख्ने साथीहरू कसैलाई पनि केन्द्रीय सदस्यबाट कसैलाई नहटाऊँ । बरू त्यसका लागि केन्द्रीय सदस्य संख्या केही बढाऊँ ।’

माधव नेपालले महाधिवेशनमा आफूलाई बलियो ठाने र महाकाली सन्धिको विषयलाई मुख्य मुद्दाको हैसियत दिए । मलाई लाग्छ, यो गुप्त खेलका डिजाइनर केपी ओली थिए

तर बहुमतले निर्णय गरिसकेको विषय भएकाले माधवले महाधिवेशनमा आफूलाई बलियो ठाने र यो विषयलाई मुख्य मुद्दाको हैसियत दिए । त्यति मात्र होइन, माधवले केन्द्रीय सदस्य संख्या स्वात्तै कटाएर असहमत पक्षका आठ जनालाई मात्रै केन्द्रीय कमिटीमा ल्याउने प्रस्ताव गरे ।

मलाई लाग्छ, यो गुप्त खेलका डिजाइनर केपी ओली थिए । केपीको खेलका सामु माधवको अल्पदृष्टि निर्णायक मोड बन्यो । मैले भनेको नमान्नेलाई तह लगाइदिन्छु भन्ने सोचबाट माधव अघि बढे र औपचारिक रुपमा पार्टी विभाजन भयो, ०५४ साल फागुन २१ गते ।

वामदेव र सीपीबीच खटपट, फेरि पार्टी एकता

पार्टी दुई फ्याक भएपछि एमालेलाई घाटा त भयो नै, नयाँ पार्टी मालेसमेत जन्मजातै रोगायो । मालेका शीर्षस्थ नेताद्वय सीपी र वामदेवबीच सुरूमै समस्या देखियो ।

सीपी सानो समूह बोकेर पार्टीभित्रका सदावहार विपक्षी बनिरहन खोेजे । बामदेव सीपीलाई नेता मान्न तयारै भएनन् । बामदेवमा एक नम्बरको नेता मै हुँ भन्ने अहम् बढिरहृयो । कतै जाँदा, हिँड्दा, बस्दासमेत बामदेवले आफूलाई राष्ट्रकै पहिलो नम्बरको नेता हुँ भन्ने भाव देखाउन खोजिरहे । यस्तो प्रवृत्तिले पार्टी चलाउन कठिन बन्दै गयो ।

यही मौका पारेर माधवले बामदेव र सिद्धिलाल सिंहलाई एमालेमा फर्काउन फकाउन थाले । उनी सिंगो मालेलाई होइन आफूलाई मन परेका खास-खास नेताहरूलाई छिमलेर एक्लाएक्लै एमालेमा फर्काउन चाहन्थे । म र सीपीलाई भने फर्काउन चाहँदैनथे । म ठोकुवाका साथ भन्न सक्छु, माधव हामी दुई दाजुभाइलाई भित्रैदेखि पूर्वाग्रही आँखाले हेर्थे । उनले मलाई व्यक्तिगत रुपमा कहिल्यै असल नजरले हेरेनन् ।

मालेको केन्द्रीय समितिले एमालेसँग एकता गर्ने निर्णय गर्न नसकेपछि मात्र माधवले मलाईसमेत बोलाएर एकता वार्ता गर्न थालेका हुन् ।

मसँगको वार्तामा माधव बडो हार्दिक हाउभाउको आवरणमा प्रस्तुत भएका थिए । उनले विगतमा आफूबाट धेरै गल्ती भएको पनि स्विकारे । एउटै विचार, चिन्तन र गन्तव्य भएका दुई पार्टी अलग अलग बाटो हिंड्नुभन्दा सँगै यात्रा गर्दा सहज हुने बताए । ‘महाकाली सन्धिबाहेक माले र एमालेका समान उद्देश्य, व्यवहार, सिद्धान्त भएकाले एकै ठाउँ हेलिएर अघि बढौं,’ माधवले धेरैपटक मसँग भनें ।

तत्काल गरिएको सांगठनिक सहमतिहरू आठौं महाधिवेशनसम्म लागू गरेर जाऔं भन्ने प्रस्ताव राखे । यी कुरा हुँदासम्म मलाई स्थायी समिति सदस्यमा कुनै पनि मूल्यमा नछुटाउने वचन दिएका थिए । मैले सोचें, राजनीतिको आधार र विश्वास भनेकै वचन हो । वाचा गरिसकेपछि किन कुनै तमसुक खोजिरहनु ? गम्भीर मुद्रा र दयनीय हाउभाउसहित प्रस्तुत भएका माधवको अवस्थाले म उनीप्रति वशीभूत भएँ र आफ्नो बलबुँताले भ्याएसम्म पार्टी एकीकरणको बाटोमा लागें ।

त्यसपछि हामी बामदेव, सिद्धिलाल र म मालेभित्र एकताका पक्षमा बहुमत जुटाउने कसरतमा लाग्यौं । बामदेव निकट भनेर चिनिएका किरण गुरूङ, खेमनारायण ढुंगाना, केशवलाल श्रेष्ठ, त्रिलोचन ढकाल, शारदा सुवेदी, दलबहादुर रानाहरू कुनै पनि हालतमा एमालेमा फर्कने पक्षमा थिएनन् । घनश्याम भुसालले पनि फर्कन रूचि देखाएका थिएनन् । हामीले निकै प्रयत्न गरेर उनीहरूलाई मनायौं । एकता प्रक्रियाको शुरुमा बामदेव एक्लो थिए । मैले एकताको पक्षमा साथ दिएपछि मात्रै बहुमत पुग्यो ।

माधव नेपालले गरेका प्रतिवद्धतालाई व्याख्या गरेर एकताका विपक्षमा रहेका साथीहरूलाई मनाइयो । एकता प्रक्रियाको पहलकदमीमा सुरु-सुरुका दिनमा सीपीले नै अगुवाइ गरेका थिए । हामीलाई थाहै नदिई सीपी धेरैपटक माधवको घरमा पुगेका रहेछन् । सीपीको भरमा मात्र एकता समिति नबनेपछि माधवले मलाई सीपीसँग भएका सबै कुरा खोलेका थिए ।

त्यसपछि दुवै पार्टीबाट एकताको कमान्ड गर्नेहरू छानिए । मालेका तर्फबाट बामदेव गौतम, किरण गुरूङ र म एमालेको तर्फबाट माधवकुमार नेपाल र युवराज ज्ञवाली एकता कमान्डमा छानिए । वार्तामा छैटौं महाधिवेशनअघिको सांगठनिक हैसियत सबै नेता कार्यकर्ताहरूलाई दिइने टुंगो भयो ।

हामी सहोदर दाजुभाइ भए पनि सीपीले दाजु सम्झेर म एमालेमा नर्फकने भएँ भनी एकै वचन सुनाएनन्, सल्लाह गरेनन्

अनि माधवकै छाँयामा उभिएँ

अन्ततः विभाजनको चार वर्षपछि ०५८ फागुन ४ गते एमालेृ र मालेवीच पार्टी एकता भयो । त्यही दिन बिहान मालेको केन्द्रीय कमिटी बैठकले गुटविहीन रुपमा एमालेमै फर्किएर एकीकरणको सहमतिअनुसार काम गर्ने माइन्युट गर्‍यो । निर्णयअनुसार दिउँसो १ बजे पत्रकार सम्मेलन गर्ने कार्यक्रम बन्यो । सम्मेलनलाई वामदेव र सीपी दुवैले सम्बोधन गर्ने तय भयो ।

पत्रकार सम्मेलनमार्फत बामदेवले पार्टी एकीकरणको घोषणा गरे । त्यस बेलासम्म मञ्चमा मौन रहेका सीपी अचानक जुरूक्क उठेर बोलेछन्, ‘मचाहिँ एकताका पक्षमा छैन । एमालेमा फर्कन्नँ ।’

एकता घोषणासभामा सीपीले एकाएक त्यसो भन्दा उपस्थित नेता, कार्यकर्ता चकित परेर मुखामुख गर्न थालेछन् । सुरुवाती दिनमा एकताको नेतृत्व गरेका सीपीले त्यसअघि कहीँ त्यस्तो आभाससमेत दिएका थिएनन् । एउटै ड्यासमा बसेर बामदेवले एकताको घोषणा गरेपछि सीपीले म जाँदिनँ भन्नु राजनीतिक संस्कार थिएन ।

मलाई त्यसबेला मधुमेह रोगले भेटिसकेको थियो । जहाँ पायो, त्यहीँ खाना खान्नथेँ । पार्टी एक हुने भएपछि म दंग पर्दै खाना खान घरतिर हिंडेँ । एकता घोषणा कार्यक्रममा उपस्थित हुन भ्याइनँ । तर, एक डेढ घन्टाभित्रै एकमतले गरेको पूर्वनिर्णय बिथोलिइसकेछ । हामी सहोदर दाजुभाइ भए पनि सीपीले दाजु सम्झेर म एमालेमा नर्फकने भएँ भनी एकै वचन सुनाएनन्, सल्लाह गरेनन् ।

माधवले वचनको तमसुक च्याते । वचन पालना नगर्ने नेपाली राजनीतिको पासोमा सेरिएँ, म

सीपीको निर्णयका कारण मैले आफू संकटमा फसेको अनुभव गरेँ । मनमा चिसो पस्यो । किनभने माधवले मलाई नचाहँदा नचाहँदै बाध्य भएर एमालेमा स्वागत गर्दै थिए । वामदेवको स्वाभाव भरपर्दो थिएन । आफ्ना लागि सानै केही पाउने भए पनि वामदेव पुलकित बनेर एउटा कुनातिर लागिहाल्थे । समूहको स्वार्थभन्दा व्यक्तिगत र गुटगत स्वार्थ हेर्ने वामदेवको आनीबानीसँग म परिचित मात्र होइन, आजित थिएँ ।

सीपी अर्कैतिर लागेपछि मलाई आपत पर्‍यो । तर, उनीसँग फर्किएर छेउमा ठाउँ देऊ भनेर जान मेरो स्वाभिमानले छेक्यो । अहिले सोच्छु, ममा पनि अहं टाँसिएको रहेछ । हुन त सीपीसँगै गएको भए पनि त्यसले मलाई फाइदा नहुने निश्चित थियो । दाजुभाइबीचको राजनीतिक सम्बन्धबारे म नेपाली कांग्रेसका नेताद्वय मातृका-बीपीबीचको मनमुटाव र कार्यशैलीबाट परिचित थिएँ । मनमोहन र सहाना साली-भेना भए पनि उनीहरूबीच मन फुकाएर सहकार्य नभएको नजिकबाट देखेको थिएँ । दाजुभाइबीच त्यस्तो उतारचढावको सम्बन्ध नेपाली राजनीतिमा फेरि नहोस् भन्ने मेरो कामना थियो । त्यही भएर सीपीको चौतारीमा ढाक्रो बिसाउन गइँन । माधवकै चौतारी छेउमा टेकुवा टेकेर सुस्ताउने गरी एकीकरणलाई स्वीकार गरें ।

तर माधवले वचनको तमसुक च्याते । पार्टी एकीकरण भएको दुई महिनापछि सातौं महाधिवेशन भयो । महाधिवेशन भएपछिको केन्द्रीय समितिको दोस्रो बैठकमा पुग्दा नपुग्दै माधवले मलाई कारबाही गरेर पार्टीबाट निष्कासन गरे । वचन पालना नगर्ने नेपाली राजनीतिको पासोमा सेरिएँ, म ।

(पत्रकारद्वय माधव बस्नेत र मनबहादुर बस्नेतद्वारा सम्पादित राधाकृष्ण मैनालीको संस्मरणात्मक पुस्तक नलेखिएको इतिहासको सम्पादित अंश)