क्रिटिक्स अवार्डः बिपिन, माओत्से र केकी सर्वोत्कृष्ट, फिल्ममा कालोपोथीलाई अवार्ड

क्रिटिक्स अवार्डः बिपिन, माओत्से र केकी सर्वोत्कृष्ट, फिल्ममा कालोपोथीलाई अवार्ड

काठमाडौं – नेपाल चलचित्र समीक्षक समाज (फिक्सन) ले तीन वर्षको क्रिटिक्स अवार्ड एकसाथ वितरण गर्ने भएको छ । आगामी मंसिर ६ मा बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा २०७१, २०७२ र २०७३ सालको क्रिटिक्स अवार्ड एकसाथ वितरण गरिने भएको छ ।

प्राविधिक कारणले विगत तीन वर्षदेखि रोकिएको अवार्ड एकसाथ वितरण गर्न लागिएको जानकारी नेपाल चलचित्र समीक्षक समाजले प्रेस विज्ञप्तिमार्फत गराएको छ । दुई वर्षमा प्रदर्शनमा आएका फिल्ममध्येबाट सात विधामा सर्वोत्कृष्ट हुने चलचित्र, निर्देशक, कलाकार र प्राविधिकलाई अवार्ड प्रदान गरिन लागेको हो ।

समीक्षकहरुका नजरमा उत्कृष्ट ठहरिएका फिल्म र कलाकारहरुलाई अवार्ड वितरण गरिन लागेको हो । २०७३ सालमा रिलिज भएका फिल्महरुमध्ये सर्वोत्कृष्ट फिल्म ‘कालोपोथी’, निर्देशक दीपक रौनियार (सेतो सूर्य), पटकथा मीन भाम र अविनाश विक्रम शाह (कालोपोथी), सम्पादन डेभिड बार्कर (सेतो सूर्य), छायांकन अजिज जम्बाकिन (कालोपोथी), अभिनेता बिपिन कार्की (जात्रा) र माओत्से गुरुङ (पुरानो डुङ्गा) र अभिनेत्री केकी अधिकारी (लभ सासा)ले पाउने घोषणा गरिएको छ ।

त्यस्तै २०७२ सालमा सर्वोत्कृष्ट फिल्म ‘पशुपति प्रसाद’, निर्देशक दीपेन्द्र के. खनाल (पशुपतिप्रसाद), पटकथा खगेन्द्र लामिछाने (पशुपतिप्रसाद), छायांकन शैलेन्द्र डी. कार्की (कबड्डी कबड्डी), अभिनेता सौगात मल्ल (फन्को) र अभिनेत्री रिस्मा गुरुङ (कबड्डी कबड्डी) घोषित भएका छन् ।

२०७१ सालका विजेताको नाम यसअघिनै घोषणा भइसकेको थियो । जसअनुसार सर्वोत्कृष्ट फिल्म ‘कबड्डी’, निर्देशक निश्चल बस्नेत (टलकजंग भर्सेज टुल्के), पटकथा रामबाबु गुरुङ र उपेन्द्र सुब्बा (कबड्डी), अभिनेता दयाहाङ राई (कबड्डी), अभिनेत्री प्रियंका कार्की (सुन्तली), छायाङकन अन्ड्रा बेलिका (सुन्तली), सम्पादन बनिस शाह र मिलन श्रेष्ठ (तान्डव) र पाश्र्व संगीत जेसन कुँवर (टलकजंग भर्सेज टुल्के) उत्कृष्ट घोषित भएका थिए ।

‘प्राविधिक कारणले क्रिटिक्स अवार्ड घोषणा र वितरण कार्य समयमा गर्न सकेका थिएनौं । यसपटक तीन वर्षको अवार्ड एकसाथ वितरण गरिरहेका छौं,‘नेपाल चलचित्र समीक्षक समाजका अध्यक्ष यज्ञशले भने,‘नेपालमा निर्माण् भइरहेका राम्रा कथा र संस्कृति बोेकेका फिल्मलाई प्रोत्साहन गर्न अवार्डको आयोजना गरेका हौं ।’