रुसले निर्वाचनमा हस्तक्षेप गरेको बेलायती प्रधानमन्त्री मेको आरोप

रुसले निर्वाचनमा हस्तक्षेप गरेको बेलायती प्रधानमन्त्री मेको आरोप

लन्डनमा सोमबार साँझ आयोजना भएको उद्योगी व्यवसायीहरुको भेलालाई सम्बोधन गर्दै बेलायती प्रधानमन्त्री थेरेसा मे । तस्बिर : बिबिसी

 

लन्डन– बेलायती प्रधानमन्त्री थेरेसा मेले रुसमाथि हालसम्म कै सबैभन्दा कडा प्रतिक्रिया दिँदै विभिन्न देशका निर्वाचनमा रुसले हस्तक्षेप गरेको र साइबर जासुसी गरिरहेको आरोप लगाएकी छिन् ।

बेलायतको राजधानी लन्डनमा सोमबार साँझ आयोजना भएको उद्योगी व्यवसायीहरुको एउटा भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री मेले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सरकारले स्वतन्त्र समाजलाई कमजोर पार्न प्रयास गरेको आरोप लगाएकी छिन् । ‘उनीहरुले पश्चिममा जगतमा मतभेद सिर्जना गर्न गलत समाचार फैलाइरहेका छन्’ सम्बोधनका क्रममा मेले बताइन् । बेलायतले रुससँग कहिले अन्त्य नहुने खालको वादविवाद नचाहे पनि देशको राष्ट्रिय स्वार्थ भने जोगाउने उनले बताइन् । मेको यस्तो भनाइ गत साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइको ठिक विपरित कोणबाट आएको छ । गत साता अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसको संलग्नता स्वीकार नगरेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भनाइप्रति आफूलाई विश्वास लागेको बताएका थिए।

बेलायती प्रधानमन्त्री मेले रुसप्रति यस्तो आरोप लगाउँदै गर्दा बेलायतका विदेश सचिवले आगामी महिना रुसको भ्रमण गर्ने तालिका सार्वजनिक भएको छ।

लन्डनस्थित म्यानसियन हाउसमा उद्योगी व्यवसायीहरुको भेलामा विदेशनीति सम्बन्धी एउटा महत्वपूर्ण मन्तव्य राख्दै प्रधानमन्त्री मेले आफूले रुसी राष्ट्रपतिलाई साधारण सन्देश दिएको बताइन् । उनले पुटिनलाई फरक बाटो चुन्न सुझाव दिँदै रुसले पछिल्ला केही वर्षभित्र गरेका कार्यको निन्दासमेत गरिन् । उनले मस्कोले क्रिमियालाई गाभेको, युक्रेनमा द्वन्द सिर्जना गरेको र युरोपभर भएका सरकारी र संसदीय निर्वाचनमा साइबर हमला गरेको आरोपसमेत लगाइन् । रुस नियम अनुसार चले पश्चिमा राष्ट्रका महत्वपूर्ण साझेदार हुनसक्ने मेको भनाइ थियो।

‘रुसले निरन्तर युरोपका विभिन्न देशका राष्ट्रिय हवाईमार्गको दुरुपयोग गरिरहेको छ र युरोपभर साइबर हमला तथा अवरोध गरिहेको छ । जसमा निर्वाचनका बेला हस्तक्षेप गर्नेदेखि डेनमार्कको रक्षा मन्त्रालयको विवरण ह्याक गर्ने सम्मका रहेका छन्,’ मेलाई उल्लेख गर्दै बिबिसीले जनाएको छ।

‘हामीलाई रुसले के गरिरहेको छ त्यस बारेमा सबै जानकारी छ र त्यस्तो काममा रुसले सफलता प्राप्त गर्दैन भन्ने पनि थाहा छ किनभने रुसले हाम्रो स्वतन्त्रता र खुला समाजसहितको विशेषता रहेको प्रजातन्त्रलाई नजरअन्दाज गरिरहेको छ । त्यति मात्रै नभई रुसले पश्चिमा राष्ट्रहरुको क्षेत्रीय एकतासमेतलाई वेवास्ता गरिरहेको छ,’ मेलाई उल्लेख गर्दै बिबिसीले जनाएको छ।

उनले बेलायतले युरोपेली संघ छोडेर विश्वमा नयाँ अध्यायको सुरुवात गरेको बताउँदै लन्डन उत्तर एटलान्टिक सन्धी सम्झौता (नाटो)प्रति पूर्ण प्रतिबद्ध रहेको दोहो¥याएकी छिन् । उनले बे्रक्जिट सम्झौताले बेलायतको उदार मान्यतालाई थप बलियो बनाउने बताउँदै युरोपेली संघ र लन्डनबीचको बलियो आर्थिक साझेदारी रुसले युरोपमा विजारोपण गर्ने आन्दोलनविरुद्धमा बलियो किल्ला हुने बताएकी छिन् । यसैबीच बेलायती प्रधानमन्त्री मेले सोमबार रुसमाथि निर्वाचनमा हस्तक्षेप गरेको र साइबर जासुसी गरेको भनेर लगाएको आरोपलाई रुसका एक वरिष्ठ अधिकारीले मंगलबार अस्विकार गरेका छन् । मेको भनाइलाई लक्षित गर्दै रुसका सिनेटर एलेक्सी पुसकोभले बेलायती प्रधानमन्त्री मेले अनुत्पादक अभिव्यक्ति दिएर आफूले आफैलाई मूर्ख बनाएको बताएका छन् ।