

उच्च अदालत पाटनले एन्फा अन्तरिम आदेश खारेज भएमा अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन यसै महिना हुने भएको छ । हाम्रो खेलकूद डटकममा खबर छ ।
एन्फाको निर्वाचन समितिले आइतबार विज्ञप्ती जारी गर्दै रिट निवदेकहरुले माग गरेको विषय बस्तु र उच्च अदालतको आदेशको भावना समेत समावेश भइसकेकोले निर्वाचन बैशाख २२ गते गर्न सक्ने निर्णय गरेको उल्लेख गरेको छ ।
निर्वाचन समितिका संयोजक, सह संयोजक र सदस्यले हस्ताक्षर गरि जारी गरेको विज्ञप्तीमा उच्च अदालतको आदेश बमोजिम चैत १४ गतेका लागि तय भएको निर्वाचन स्थागित गरेको स्मरण गर्दै भक्तपुर र मकवानपुर जिल्ला संघले आ आफ्नो मताधिकार प्रतिनिधि र प्रतिनिधिहरुको नामावली समेत एन्फामार्फत निर्वाचन समितिले प्राप्त गरिसकेको उल्लेख गरेको छ ।
आफ्नो प्रतिनिधित्वको माग गर्दै भक्तपुरका अध्यक्ष गौतम सुजखु र मकाउनपुरका तत्कालिन उपाध्यक्ष मनीष श्रेष्ठले दायर गरेको रिटका आधारमा उच्च अदालतले एन्फा निर्वाचन रोक्न अन्तरिम आदेश जारी गरेको थियो । त्यसपछि मकवापुरको चैत २३ र भक्तपुरको चैत २७ गते निर्वाचन सम्पन्न भएको थियो । नयाँ परिस्थिति पछि एन्फाले अन्तमरिम आदेश खारेज गर्न उच्च अदालतमा निवेदन दिइसकेको छ ।
यदि उच्च अदालतले यसअघिकै अन्तरिम आदेश खारेज नभई निरन्तरता दिएको अवस्थामा भने निर्वाचन समितिले बैशाख २२ गते निर्वाचन गर्न नसक्ने पनि सोही विज्ञप्तीमा उल्लेख गरिएको छ । एन्फाको चुनावी मैदानमा दुई प्यानल रहेका छन् । सस्थापन पक्षबाट वरिष्ठ उपाध्यक्ष मणि कुवँर र पूर्व उपाध्यक्ष कर्मा छिरिङ शेर्पा प्यानलसहित चुनावी प्रतिस्पर्धामा छन् । १७ सदस्यीय केन्द्रिय समितिका लागि हुने निर्वाचनमा महिला सदस्य भने निर्विरोध निर्वाचित भइसकेकी छिन् ।