

काठमाडौं । सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडले तेस्रो त्रैमाससम्ममा रू. ४० करोड ३२ लाख खराब कर्जा सङ्कलन गर्न सफल भएको छ । सोही अवधिमा बैङ्कले रू. १ अर्ब नाफा आर्जन गर्न सफल भएको छ । बैङ्कको नाफा गत आवको तुलनामा १४ प्रतिशतले बढेको छ । बैङ्कको खुद ब्याज आम्दानी गत आवको तुलनामा १७ प्रतिशतले बढेर रू. १ अर्ब ४७ करोड पुगेको छ । सञ्चालन मुनाफा ३२ प्रतिशत बढेर रू. १ अर्ब १७ करोड रहेको छ । बैङ्कले तेस्रो त्रैमासमा खराब कर्जा सङ्कलन र खुद ब्याज आम्दानी बढेपछि खुद नाफा बढाउन सफल भएको हो ।
बैङ्कको तेस्रो त्रैमासमा चुक्तापूँजी गत आवको तुलनामा ३६ प्रतिशतले बढेर रू. ८ अर्ब ३ करोड पुगेको छ भने जगेडा कोषको रकम ९ प्रतिशतले बढेर रू. २ अर्ब ३७ करोड रहेको छ । बैङ्कले रू. ६० अर्ब २५ करोड निक्षेप सङ्कलन गरी रू. ५५ अर्ब ८२ करोड कर्जा प्रवाह गरेको छ । साथै, कम्पनीले तेस्रो त्रैमाससम्ममा रू. १० अर्ब ४८ करोड लगानी गरेको छ । बैङ्कको निष्क्रिय कर्जा १ दशमलव ४६ प्रतिशत रहेको छ । बैङ्कको प्रतिशेयर आम्दानी रू. १५ दशमलव ७६ रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. १ सय २९ दशमलव ५६ रहेको छ । तरलता अनुपात २२ दशमलव २२ प्रतिशत रहेको छ