पाँचदलीय गठबन्धनले एमालेलाई उछिन्छ- धनराज आचार्य

पाँचदलीय गठबन्धनले एमालेलाई उछिन्छ- धनराज आचार्य

देशको ६ वटा महानगरपालिकामध्ये पोखरा महानगरपालिका चर्चामा छ। गण्डकी प्रदेशको राजधानीसमेत रहेको यो महानगरपालिकामा पाँचदलीय गठबन्धनको तर्फबाट धनराज आचार्य प्रमुख पदका उम्मेदवार छन् । उनी गठबन्धनको एउटा दल एकीकृत समाजवादीका नेता हुन् ।

उनले बिहीबार संयुक्त चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । उनै अचार्यसँग सार्वजनिक भएको घोषणापत्र, गठबन्धनको पोखरामा स्थितिलगायतबारे केन्द्रित भएर गरेको कुराकानीको सम्पादित अंश :-

पोखरा महानगरपालिका प्रमुखमा एमालेबाट कृष्ण थापा बलियो प्रतिस्पर्धी हुनुहुन्छ । निर्वाचन जित्नु हुन्छ ?

जित्छु । नजित्नु पर्ने के नै छ र ? म त पाँच दलको साझा उम्मेदवार हुँ । म प्रमुख पदको उम्मेदवार छु । उपप्रमुखमा नेपाली कांग्रेसकी कोपिला रानाभाटजी हुनुहुन्छ । हाम्राविरुद्ध कोही पनि बागी छैनन् ।

कांग्रेसबाटै तीन जना हुनुहुन्छ नि ?

हुन त पोखरामा १२ जना हुनुहुन्छ स्वतन्त्र उम्मेदवार । उहाँहरूमध्ये अधिकांशले आज उम्मेदवारी फिर्ता लिनुहुन्छ । त्यसो भएकाले तीनजना साथीको उम्मेदवारीले खासै फरक पर्दैन ।

२०७४ सालमा भएको स्थानीय निर्वाचनमा पोखरामा एमालेका उम्मेदवार र कांग्रेस उम्मेदवारबीचको मतान्तर १४ हजार थियो । यसलाई आधार मान्ने हो भने तपाईंलाई त जित्न मुस्किल छैन र ?

जति मतान्तरले जित भयो पहिले, अहिले गठबन्धन गर्दा त्यो भन्दा बढी मतान्तरले अघि छौं । पहिले भएको मतान्तर ठूलो कुरा होइन ।

तपाईंहरूले जारी गर्नु भएको संयुक्त घोषणापत्रमा ‘सम्मुनत पोखराको आधार, सफल अर्थतन्त्र पूर्वाधार’ नारा रहेछ । तपाईंले जितेको अवस्थामा कसरी पोखरा सम्मुनत हुन्छ ?

पहिलो त यो नारासँग पोखराको समृद्धिको चित्र छ । पोखरेलीलाई समृद्ध नबनाइ हुँदैन भन्ने हाम्रो बुझाइ हो । यसका लागि पोखरेलीको आर्थिक, सामाजिक स्थितिसँगै अहिलेको पूर्वाधार, जनसंख्या र अबको १० वर्षपछिको पोखराको सम्भावित जनसंख्यालाई आधार मानेर हामी अल्पकालीन र दीर्घकालीन योजना बनाउँछौँ ।

महानगरमा यसअघि पनि थुप्रै योजना नबनेका होइनन् । गुरुयोजना पनि बनेका छन् तर ती कार्यान्वयनमा गएको देखिएन । यस हिसाबले हामी सम्मुनत पोखरा बनाउन प्राथमिकता तोकेरै पहिलो तीन महिनाका के काम गर्छौं ? ६ महिनामा के गर्छौं ? त्यस्तै, एक वर्षमा, दुई वर्षमा हुँदै पाँच वर्षमा के-के गर्न सक्छौं ? स्पष्ट रूपमा उल्लेख गरेका छौं । र, यो पोखरालाई सिंगो रूपमा प्रतिनिधित्व गर्ने ‘सिग्नेचर प्रोजेक्ट’ पनि घोषणापत्रमा राखेका छौं ।

घोषणापत्रमा भनिएका कार्यक्रम कार्यान्वयन हुन्छ ? मतदाता त नेताहरूले मत माग्दा ‘गर्छु’ भन्छन्, पछि ‘गर्दैनन्’ भन्छन् नि ?

मैले सुनाउन मात्र भन्ने होइन, काम गर्न भन्ने हो । इच्छाशक्तिका साथ कर्तव्यनिष्ठ भएर जनताको पक्षमा काम गर्न हामी चाहन्छौं । हामी पोखराको सर्वाङ्गिण विकासका लागि काम गर्छौं । यहाँ भएको पृथ्वीनारायण क्याम्पस, पोखरा विश्वविद्यालयलगायतलाई समेत थप सुविधा सम्पन्न र विकसित बनाउँदै पोखरालाई शिक्षा, स्वास्थ्य र खेलकुदको महत्वपूर्ण ‘हब’ बनाउने गरी अघि बढ्छौं । त्यसका लागि पनि कतिपय पूर्वाधार हामीले तयार गर्नुपर्छ । र, पहिले घोषणापत्र लेखिने गरिन्थ्यो, हामीले चाहिँ भोलि काम गर्नेगरी लेखेका छौं । त्यसकारणले हामीलाई विश्वास गरिदिनु हुन मतदाताहरूलाई आग्रह छ ।