कामदार बगैँचाका स्याउ टिप्न व्यस्त छन् । एग्रो मनाङ प्रालिका अध्यक्ष समराज गुरुङका अनुसार बगैँचामा स्याउ पाकेसँगै टिप्न थालिएको छ । फार्ममा अघिल्लो वर्ष ४ सय ५० टन स्याउ फलेको थियो । यस वर्ष बढ्ने अनुमान गरिएको छ । मनाङ ङिस्याङको भ्राताङमा मात्रै होइन, चामे गाउँपालिका र नासों गाउँपालिकाका किसान पनि स्याउ टिप्न व्यस्त छन् ।
दुई दशकयता स्याउ खेती गर्दै आएका उनले सडकको पहुँच विस्तारसँगै पछिल्ला वर्ष स्याउ कृषकको संख्या बढ्न थालेको बताए । मनाङबाट निर्वाचित संघीय सांसद एवं एग्रो मनाङका संस्थापक पोल्देन छोपाङ गुरुङले मनाङबाट नेपालमा स्याउखेतीमा एउटा क्रान्तिको सुरु भएको बताए । अहिले मनाङबाट काठमाडौं, पोखरा मात्रै नभएर तराईसम्म सडक पहुँच पुगेको छ । यसले गर्दा मनाङको स्याउले बजार पाउन थालेको छ ।