बाबुराम भट्टराई कानुनी रुपमै एमाले

काठमाडौं–नेकपा एमालेको चिन्हमा चुनाव लड्न लागेको नयाँ शक्ति पार्टी र राजपा छोडेर स्वतन्त्र समूह घोषणा गरेका हृदयेस त्रिपाठीको समुह कानुनी रुपमा नेकपा एमाले हुने भएका छन् ।

जुन निर्वाचन चिन्हबाट उम्मेदवार विजयी हुन्छ सोही दलको सदस्यका रुपमा आयोगमा दर्ता हुने व्यवस्था रहेको छ । चुनाव चिन्ह सहित उम्मेवारी दर्ता गरेर बिजयी भएपछि आधिकारिक रुपमा एमाले बन्ने भएका हुन् ।

अन्य दलको चुनाव चिन्ह सापटी लिएका उम्मेदवार विजयी भएमा सोही पार्टीको सदस्यको रुपमा आयोगको अभिलेखमा रहने ब्यवस्ता रहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । आयोगका प्रवक्ता ढकालले भने–‘जुन चिन्ह लिएर उम्मेदवार विजयी हुन्छ, कानुनतः ऊ सोही चिन्ह भएको पार्टीको सदस्यको रुपमा आयोगको अभिलेखमा रहन्छ ।’

निर्वाचन आयोगमा यसअघि जुनसुकै निर्वाचन चिन्ह दर्ता भएपनि संविधानको धारा २७१ का आधारमा चुनावमा भाग लिने दललाई दर्ता हुन आह्वान गर्छ । निर्वाचन प्रक्रियाका लागि पुनः दर्ता भएर आयोगले दिएको निर्वाचन चिन्ह नै आधिकारिक हुने गर्दछ ।

आयोगले निर्वाचनमा भाग लिने दललाई भदौ ११ गते दर्ताका लागि बोलाएको थियो । यसरी दर्ता भएका दल मध्ये ८८ दलले आफ्नै चुनाव चिन्हमा चुनाव लड्नका लागि दर्ता गराएका छन् भने ३ दलले अर्को दलको चिन्ह प्रयोग गर्ने गरी दर्ता भएका छन् । निर्वाचन आयोगले दिएको सीमाभित्र एउटा चुनाव चिन्हमा दर्ता भएका दलका उम्मेदवारले पछि अर्को चुनाव चिन्हबाट उम्मेवारी दिएमा सोही दलको सदस्य हुने ब्यवस्था रहेको छ ।

बाम तालमेल पछि डा.बावुराम भट्टराईको नयाँ शक्ति नेपालले नेकपा एमालेको चुनाव चिन्ह सूर्य लिएर चुनाव लड्ने बताइएको छ । जुन कुराको जानकारी   बाम तालमेल घोषणासभामा एमाले अध्यक्ष केपी ओलीले दिएका थिए । उनले  भट्टराईसँग यो विषयमा समझदारी भइसकेको जानकारी दिएका थिए । भट्राईले ओलीको भनाईमा कुनै प्रतिवाद नगरेकाले समझदारी भएर नयाँ शक्ति पार्टी सोहि अनुरुप अघि बढेको बुझिएको छ ।
भदौं ११ सम्म दर्ता भएका पार्टीलाई दिइएको चुनाव चिन्हका आधारमा आयोगले समानुपातिक प्रणालीको मतपत्र छपाइको काम समेत थालेको छ ।
कार्तिक ८ पछि प्रत्यक्षतर्फको मतपत्र छपाई  

प्रत्यक्षतर्फको मतपत्र भने उम्मेदवारी दर्तापछि मात्र हुने भएको छ । दर्ता भएका उम्मेदवारहरुले निर्वाचन चिन्ह पाएपछि मात्र मतपत्र प्रकाशनको काम थालिने आयोगले जनाएको छ ।

कार्तिक ८ मा उम्मेदवारहरुलाई निर्वाचन चिन्ह दिएपछि मतपत्रका लागि काम शुरु हुनेछ । प्रत्यक्षतर्फको मतपत्रमा उम्मेदवार नउठाएका दलको चुनाव चिन्ह रहनेछैन । स्थानीय तहको निर्वाचनमा आयोगले मतपत्र छपाईका लागि ५ सय मेट्रिक टन कागज प्रयोग भएको जनाएको छ ।
८० हजार मतपेटिका प्रयोग गरिने

स्थानीय तहको निर्वाचनका लागि किनिएको ३० हजार मतपेटिका  र २०७० सालमा भएको दोश्रो संविधान सभाको निर्वाचनमा प्रयोग भएको ६० हजार मतपेटिका प्रयोग गर्ने भएको छ ।