कोभिड-१९ का कारण गरिबी बढ्न लागिसक्यो

कोभिड-१९ का कारण गरिबी बढ्न लागिसक्यो

डा शंकर शर्मा, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष

कोभिडले नेपालीको क्रयशक्ति गुमेको हो ?

स्वाभाविक रूपमा हो। यसले प्रत्यक्ष रूपमा ३० लाख मान्छेलाई आघात पारेको छ। निजी क्षेत्रमा काम गर्नेको तलब घटेको छ। औपचारिक र अनौपचारिक क्षेत्रमा काम गर्ने ठूलो संख्या बेरोजगार भएका छन्। किन्न सक्ने क्षमता भएकाले पनि किनेका छैनन्।

चैतदेखिको लकडाउनले बाहिर ननिस्किँदा व्यापार, व्यवसाय, पर्यटन क्षेत्र ठप्प छ। यसले रोजगारी गर्नेमात्र नभएर व्यापार, उद्योग चलाउनको पनि आम्दानी घटेको छ।

उदाहरणका रूपमा शैक्षिक संस्था ठप्प हुँदा दुई लाख शिक्षकले काम पाएका छैनन्। उनीहरूले तलब नपाएपछि कहाँबाट खर्च गर्ने ? कम आम्दानी भएपछि स्वाभाविक रूपमा खर्च पनि कम गर्छन्। बिक्री नभएपछि उत्पादन हुने कुरा भएन। माग कम भयो।

कुन क्षेत्रले बढी आम्दानी गुमाउनु परेको छ ?

कोभिडबाट मानव स्वास्थ्यसँगै अर्थतन्त्रका प्रायः सबै क्षेत्रमा असर पुगेको छ। तुलनात्मक रूपमा कृषिमा कम प्रभाव परे पनि अरू सबै क्षेत्रमा क्षति पुगेको छ। आन्तरिक र वैदेशिक रोजगारी गुमेको छ। व्यापार, व्यवसाय, उद्योग समस्यामा परेपछि स्वतः रोजगारी गुम्नुका साथै आम्दानी पनि गुमेको छ। बढी असर पर्यटनमा परेको छ। पर्यटनसँग जोडिने अन्य धैरे क्षेत्र छन्। साना उद्योग पनि समस्यामा परेका छन्। नयाँ रोजगारी सिर्जना भएको छैन। उद्योग व्यापार चलाउनेदेखि जागिर गर्नेसम्मले गुमाएका छन्।

त्यसो भए यसले गरिबी बढाउँछ  ?

बढाउँछ होइन, गरिबी बढ्न लागिसक्यो। यो वर्ष गरिबी तीनचार प्रतिशतले बढ्ने अनुमान गरिएको छ। आम्दानी नभएर उपभोग गर्न नसकेपछि स्वतः गरिबी बढ्छ। उत्पादनमा समस्या भयो। उत्पादन नभए पछि रोजगारी हुँदैन। कम आम्दानी भए पछि माग पनि घट्छ। अहिले उत्पादन र व्यापार चक्र प्रभावित पारेको छ। आन्तरिक र वैदेशिक रोजगारमा असर देखिएको छ।

खाद्य असुरक्षा पनि बढेको हो ?

ईतिहाइ नेपाली कृषिमा भने पनि उनीहरूले कृषिसँगै अन्य क्षेत्रमा पनि काम गर्दै आएका छन्। अहिले पनि अर्बौंको कृषिजन्य वस्तु विदेशबाट आयात भइरहेको छ। हामीले आफ्नो उत्पादन मात्र हेर्ने होइन। कृषि बाहेक ठूलो संख्यामा सहरी क्षेत्रमा काम गर्छन्। कृषि क्षेत्र रोजगार, व्यापार, व्यवसाय गर्नेको संख्या पनि ठूलो छ।

विशेष गरी कृषिमा कम प्रभाव परेको भने पछि उत्पादनले बजार पाउन नसकेको गुनासो सुनिन्छ। यसपालि वर्षा भएपछि किसानले मल पाउन सकेनन्। त्यसले उत्पादनमा असर पार्छ। यी विविध कारणले खाद्य असुरक्षा पनि बढेको देखिन्छ।

कुराकानीमा आधारित