‘महाधिवेशनको प्रक्रिया सुरु भएपछि उम्मेदवारीका बारेमा बोलौंला’

‘महाधिवेशनको प्रक्रिया सुरु भएपछि उम्मेदवारीका बारेमा बोलौंला’

महेन्द्र यादवले पार्टी सभापतिबाट केही समयअघि केन्द्रीय यातायात व्यवसायी समन्वय विभाग प्रमुखको जिम्मेवारी पाएका छन् । उनी पार्टीका केन्द्रीय सदस्य पनि हुन् । यादव २०३५ सालदेखि निरन्तर राजनीतिमा सक्रिय छन् । उनी दुईपटक नेपाली कांग्रेसको निर्वाचित केन्द्रीय सदस्य भएका छन् भने २०४९ मा उनी नेपाल विद्यार्थी संघको केन्द्रीय उपाध्यक्ष पनि भए । २०७३ मा खानेपानी तथा सरसफाइमन्त्री भएका यादवलाई कांग्रेसबाहेक अर्को पार्टीमा विश्वास पनि छैन । तरुण दलको राष्ट्रिय अध्यक्ष पनि भए । तरुण दलपछि अहिले पार्टी राजनीतिमा सक्रिय छन् । यादवसँग गरिएको कुराकानी :

० पार्टी सभापतिज्यूले गर्नुभएको विभागको मनोनयनको विषयमा रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षबाट विरोध भएको छ । यसरी विरोध हुनु ठीक हो ?

– हेर्नुहोस्, हाम्रो विधानमै विभाग गठन गर्ने अधिकार पार्टी सभापतिलाई दिइएको छ । केन्द्रीय समितिले पनि सर्वसम्मत रूपमा यो अधिकार पार्टी सभापतिलाई दिएको छ । त्यसैले संगठन विस्तार गर्दा विरोध हुनु हुँदैनथ्यो, दुःखद् कुरा विरोध भयो ।

० कार्यकाल सकिनै लाग्दा महाधिवेशनको मुखमा विभाग गठन नगर्दा के बिग्रन्थ्यो त ?

– महाधिवेशन हुनु एक हप्ताअघि पनि पार्टी सभापतिज्यूले विभाग गठन गर्न सक्नुहुन्छ । यो अधिकार सभापतिलाई छ । संगठनको लागि सभापतिले काम गर्नुप¥यो नि । जतिबेलासम्म उहाँ सभापति हुनुहुन्छ, त्यसबेलासम्म केन्द्रीय समिति रहन्छ, त्यसबेलासम्म सभापतिले काम गर्न पाउनुपर्छ । त्यसैले महाधिवेशनको मुखमा भन्नुहोस् या महाधिवेशन अघि भन्नुहोस्, विभाग गठन गर्ने अधिकार सभापतिलाई रहन्छ नै । यसमा उहाँहरू (पौडेल, सिटौला पक्षीय नेताहरू) ले सहयोग गर्नुपर्छ । पार्टीलाई बलियो बनाउने उहाँहरूको पनि दायित्व हो । तर उहाँहरूले विरोधका लागि विरोध मात्र गर्नुभएको छ । विधानतः विरोध गर्नुको औचित्य छैन । महाधिवेशनमा आफ्नो उम्मेदवारी बलियो देखाउन उहाँहरूले विरोध गर्नुभएको होला । महाधिवेशनमा एजेन्डा बनाउन खोज्नु भएको होला ।

० तर विभाग गठन खारेज हुनुपर्छ भनी उहाँहरूले माग राख्नु भएको छ नि ?

– विभाग गठन भएका छन्, खारेज हुँदैनन् । यसमा उहाँहरूले सहयोग गर्नुपर्छ । देशभरका साथीहरूले विभागलाई क्रियाशील बनाएर अघि बढ्नुपर्छ भनिरहेका छन् । विभागसमेत गठन गर्न सकेन भन्ने अनि विभाग बनाउँदा बहिष्कार गरौं भन्ने रु यो तरिका ठिक होइन ।

० तर विभाग गठन गर्दा पौडेल र सिटौलासँग सरसल्लाह नगरी एकपक्षीय रूपमा गठन भएका छन् नि ?

– उहाँहरूलाई सभापतिज्यूले भन्नु भएको हो । उहाँहरूसँग नाम माग्नु भएको पनि हो । तर उहाँहरूले नाम दिनु भएन । नाम दिए भयो नि त । उहाँहरूको लागि विभाग छुट्टयाइएको छ । छुट्टयाइएको विभागमा उहाँहरूले नाम दिनु राम्रो हो । विभाग गठनमा उहाँहरू सहभागी भए धेरै राम्रो, तर उहाँहरू सहभागी हुनु भएन भने पार्टी र संगठनको काम रोकिँदैन ।

० विभाग गठनमा उहाँहरूको मान्छेलाई पनि ल्याउने काम भएको छ नि ?

– उहाँहरूलाई सभापतिज्यूले नाम दिनुहोस् भन्नु भएको हो । अनुशासन समितिमा जसरी उहाँहरूले नाम दिनुभयो, त्यसैगरी विभागमा पनि उहाँहरूले नाम दिएको भए राम्रो हुने थियो । उहाँहरूका क्षेत्रीय तह तथा जिल्ला तहका कार्यकर्ताहरू पनि विभागमा समेटिएका छन् । अनुशासन विभागमा उहाँहरू बस्न मिल्ने, काम गर्न मिल्ने अरु विभाग बनाउन नमिल्ने भन्ने हुँदैन । यो अवरोधको राजनीति हो ।

० सरसल्लाह नै नगरी उहाँहरूका कार्यकर्ता समेटिएका हुन् ?

– ज–जसले विभागमा बस्न इच्छा व्यक्त गर्नुभयो, उहाँहरू विभागमा समेटिनुभएको छ ।

० यसले महाधिवेशनमा प्रभाव पार्छ कि पार्दैन ?

– यो पार्टीको काम हो । नियमित प्रक्रिया हो । यसले महाधिवेशनमा केही पनि प्रभाव पार्दैन । समग्र रूपमा पार्टीलाई बलियो बनाउन यसले मद्दत गर्छ ।

० तर विभागमा रहेका केहीले व्यक्तिले विज्ञप्ति निकालेरै विभागमा बस्न अस्वीकार गरेका छन् नि ?

– दुई चारजनाले बहिष्कार गर्दैमा विभाग रोकिँदैन, तर विभागमा बस्न अस्वीकार गरेको मलाई जानकारी छैन । विभागमा बस्न अहिले पनि तँछाडमछाड भइरहेको छ । मेरो नाम छुट्यो भनेर साथीहरूले भन्ने गरेका छन् । साथीहरूबाट एकदमै उत्साह आएको छ । विभागमा बस्न उहाँहरू उत्साहित हुनुभएको छ । जोश जाँगर आएको छ । विभागमा बस्नलाई उहाँहरू तत्पर देखिनुभएको छ ।

० तपाई प्रमुख भएको यातायात व्यावसायी समन्वय विभागमा बसेका कसैले अस्वीकार गरेका छन् ?

– मेरो विभागमा रहेका कसैले पनि अस्वीकार गर्नुभएको छैन । उहाँहरू सबै उत्साहित हुनुहुन्छ । मेरो विभागमा थुप्रैजनाको सूची छ । ठाउँठाउँबाट ‘म आउँछु दाइ, मेरो नाम विभागमा राख्नुहोस्’ भन्ने गरेका छन् । यस्तो फोन थुप्रै ठाउँबाट आएको छ ।

० अब पार्टीमा महाधिवेशनको माहोल सुरु भएको हो ?

– महाधिवेशनेको माहोल त जुन दिन महाधिवेशन खतम हुन्छ, त्यसको भोलिपल्टदेखि नै महाधिवेशनको तयारी सुरु हुन्छ । तर अहिले वडा समिति गठन भएका छैनन् । वडादेखि केन्द्रसम्म प्रतिनिधि छानिएका छैनन् । कसरी महाधिवेशन सुरु भयो भन्ने रु महाधिवेशनको तिथि तय मात्र भएको छ, तर त्यसका लागि सुरुमा क्रियाशील सदस्यहरूको सूची छान्नु प¥यो नि । वडा, गाउँ अधिवेशन हुनुप¥यो । गाउँपालिका, नगरपालिका, क्षेत्र, जिल्ला/प्रदेशको अधिवेशन हुनुप¥यो । त्यसैले महाधिवेशनको प्रक्रिया सुरु भएको छैन ।

० फागुनमा महाधिवेशन हुन्छ कि हुँदैन ?

– कोरोनाको महामारीले कुन रूप लिन्छ, अहिले केही भन्न सकिने स्थिति छैन । महाधिवेशन हुने नहुने कुरा पनि त्यसमा भर पर्छ । त्यसैले अहिले नै केही भन्न सकिने अवस्था छैन । जिल्ला जिल्लाबाट जिल्ला सभापतिहरूको गुनासो आउने गरेको छ, यतिखेर हामीले क्रियाशील सदस्य नवीकरण गर्न सक्दैनौ, नयाँ बनाउन सक्दैनौ भन्ने गुनासो आउने गरेको छ । यस्तो गुनासो ठाउँठाउँबाट आएको छ । महामारीले कुन रूप लिन्छ, हेरौं ।

० भनेपछि अर्को ६ महिना थप हुने सम्भावना छ, होइन ?

– मैले भनिसकें, महामारीले कुन रूप लिन्छ, त्यसमा भर पर्छ ।

० संविधानले अर्को ६ महिना थप्न सक्ने सुविधा दिएकै छ नि ?

– त्यो व्यवस्था संविधानमा छ । देशमा संकट नै आयो भने त विभिन्न विकल्पमा जानै पर्छ नि ।

० तर अहिलेसम्मको तयारी हेर्दा यो फागुनमा महाधिवेशन हुने सम्भावना छैन, होइन ?

– यो फागुनमा महाधिवेशन हुन गाह्रो छ । फागुनमा महाधिवेशन हुन जुन कार्यतालिका बनाएका थियांै, कार्यतालिका सबै क्रस भएको छ । पार्टीको कुनै काम हुन सकेको छैन ।

० अहिले क्रियाशील सदस्यताको वितरणको काम स्थगित भएको हो ?

– स्थगित भएको छैन, ठाउँठाउँमा वितरण भएको छ । ठाउँठाउँमा जिल्ला सभापतिहरूले क्रियाशील सदस्यता बाँड्ने काम गर्नुभएको छ । तर धेरै जिल्लामा समायोजनको काम पनि सकिएको छैन ।

० विजय गच्छदारको पार्टीसँग समायोजन सकिएको छैन, हो ?

– गच्छदारजीको पार्टीसँग मात्र होइन, आफ्नै पार्टीसँग पनि समायोजन पूरा भएको छैन । यसअघि गाउँ समिति, वडा समिति थिए । तर अहिले गाउँपालिका, नगरपालिका गठन भएका छन् । चार/पाँचवटा गाउँ समिति मिलेर एउटा नगरपालिका बनेको छ । त्यहाँ समायोजनको काम हुन सकेको छैन । जिल्ला सभापतिहरूले यो काम गर्न सक्नुभएको छैन ।

० नेपाली कांग्रेसले यसपटक १० लाख क्रियाशील सदस्यता पु¥याउने लक्ष्य राखेको हो ?

– हो, यसपटक नेपाली कांग्रेले १० लाख क्रियाशील सदस्यता बाँड्ने लक्ष्य राखेको छ ।

० लक्ष्य मात्र राख्नु भएको छ कि कस्तो आचरणका व्यक्तिलाई सक्रिय सदस्यता दिने भनेर क्राइटेरिया पनि बनाएको छ ?
– क्राइटेरिया त पहिले नै बनाइएको छ, अब यो लक्ष्य पूरा हुन्छ ।

० १४औ महाधिवेशनमा शेरबहादुर देउवा सभापतिमा उठ्ने निश्चित झै छ, होइन ?
– अहिले अधिवेशनको प्रक्रियाको बारेमा मात्र कुरा गरौं ।

० सभापतिहरूको उम्मेदवार चर्चाबाट भाग्न खोज्नु भएको हो ?
– उम्मेदवारहरूका बारेमा पछि कुरा गरौंला ।

० तर विमलेन्द्र निधिले पनि सभापतिमा उम्मेदवार हुने घोषणा गर्नुभएको छ नि ?

– अहिले उम्मेदवारको बारेमा म केही बोल्दिनँ । यसबारेमा नेताहरूसँग मेरो कुरा भएको छैन । नेताहरूसँग कुराकानी भएपछि बोल्छु । महाधिवेशन कहिले हुने टुंगो पनि लागेको छैन ।

० तपाईं पनि उम्मेदवार हुनुहुन्छ होला नि ?

– महाधिवेशनको प्रक्रिया सुरु भएपछि यसबारेमा कुरा गरौला ।

० तर पनि सभापतिको उम्मेदवार अहिले धेरै देखिएका छन्, नौ÷दशजना भइसके, होइन ?

– यो स्वाभाविक हो । पार्टी पनि ठूलो छ नि । यो पार्टीमा नेताहरू धेरै हुनुहुन्छ । दुःख गरेका मान्छेहरू धेरै हुनुहुन्छ ।

० तपाईहरूको टिमबाट नेतृत्व शेरबहादुर देउवाले गर्ने सम्भावना छ, होइन ?

– उम्मेदवारीको विषयमा अहिले कुराकानी केही भएको छैन ।

० भनेपछि अहिले उम्मेदवारी घोषणा गर्नु व्यक्तिगत इच्छा मात्र हो ?

– व्यक्तिगत इच्छा सबैको हुन्छ, यो स्वाभाविक हो । विचार मन्थन गर्न पाउनु पनि पर्छ ।

० गोविन्दराज जोशी, पुष्करनाथ ओझालाई कारबाही गरेको विषयमा पार्टीभित्र विभिन्न किसिमका कुरा आउने गरेका छन्, कारबाही स्वाभाविक हो ?

– यो काम अनुशासन समितिले गरेको हो । अनुशासन समितिले गरेको कामको बारेमा मेरो भन्नु केही छैन । यस विषयमा टिप्पणी गर्नु राम्रो हुँदैन ।

० तर जोशी, ओझालाई कारबाहीलाई गरेर सूर्यबहादुर थापाका छोेरालाई पार्टीमा भित्र्याउँदा यसले पार्टीलाई कहाँ पु¥याउँछ भन्ने किसिमका चिन्ता पनि हुने गरेका छन् नि ?

– नेपाली कांग्रेस समुद्र हो । साना ठूला नदीको संगमस्थल पनि हो । ठूल्ठूला नेताहरूलाई पार्टीमा प्रवेश गराएर पार्टी बलियो बनाउनुपर्छ । आगामी चुनावमा नेपाली कांग्रेसको सरकार बनाउनुपर्छ । त्यसका लागि सभापतिज्यूले गर्नुभएको पहल राम्रो हो ।

० भनेपछि निकाल्नु ठिक हो कि भित्र्याउनु ठिक हो ?

– हो, पार्टीमा ठूल्ठूला नेतालाई भित्र्याउनु राम्रो काम हो । म भन्छु, अब राप्रपा र समाजवादीका सबै नेता कार्यकर्ता हाम्रो पार्टीमा आउनुपर्छ । अब यो देशमा एउटा कम्युनिस्ट र अर्को डेमोक्रेट गरी दुईवटा मात्र पार्टी हुनुपर्छ । कमल थापा पनि अब कांग्रेसमा आउनुपर्छ ।

० प्रसंग बदलौ, ओली सरकारको साढे दुई वर्ष पूरा भएको छ । यो सरकारको मूल्यांकन कांग्रेसले कसरी गरेको छ ?

– यो सरकार पूर्णरूपमा असफल भएको छ । यो सरकारसँग वैधानिकता मात्र छ । सरकारलाई जनताले पत्याउन सकेका छैनन्, सरकारले विश्वास गुमाएको छ । कोरोना महामारीमा केन्द्र सरकार र प्रदेश सरकारले सिन्कोसमेत भाँच्न सकेका छैनन् । क्वारेन्टाइनमा धेरै संक्रमित थपिएका छन् । क्वारेन्टाइनको व्यवस्थापन हुन सकेन । सरकारले बाहिरबाट आएका मान्छेहरूको जाँच गराउन सकेन । देशभित्रकै मान्छेहरूको पनि परीक्षण हुन सकेन । मान्छेहरूलाई आइसोलेसनमा राख्न सकेन । भेन्टिलेटर खरिद गर्न सकेन । आइसियु बनाउन सकेन ।
यो सरकारले नेपाली जनतालाई पीडा दिएको छ । सरकारले किट किन्न सकेको छैन । मेसिन छैन । औषधि र किटमा समेत भ्रष्टाचार भएको छ । विकास निर्माणको काम हुन सकेको छैन । सत्तारुढ दलका नेताहरू आफूआफूमा झगडा गरेर सडक प्रदर्शनमा उत्रिएका छन् । यो महामारीको बेलामा जनता बचाउनुपर्नेमा आफ्नो कुर्सी बचाउन लागेका छन् । अब यो सरकारले पद छाडे हुन्छ । राजीनामा गरे हुन्छ । अर्को सरकार आउँछ ,त्यसले कोरोना महामारीमा केही नयाँ काम गर्छ कि रु

० तर अर्को सरकार आए पनि त्यो नेकपाकै हुन्छ होला नि?

– यो सरकारले केही गर्न सकेन । यसको भिजन नै भएन । कम्युनिस्ट पार्टीकै सरकार असफल भएको छ । कम्युनिस्ट पार्टी सरकार चलाउन असफल भएको छ ।

० कोरोना महामारी नियन्त्रण गर्न प्रदेश सरकारहरू पनि असफल भएका छन् नि ?

– कोरोना महामारी नियन्त्रण गर्न प्रदेश सरकारहरू पनि असफल भएका छन् । प्रदेश सरकार भ्रष्टाचारमा लिप्त छन् । अहिले नेपाली जनता ठूलो दुःखमा छन् । सरकारले चाहेको भए कोरोना महामारीलाई सुरुदेखि नै नियन्त्रण गर्न सक्थ्यो । नेपाल एउटा उदाहरण बन्न सक्थ्यो । तर अहिले दिनदिनै घटना बढेका छन् । संक्रमितहरूलाई कहाँ राख्ने, त्यो ठाउँ छैन । पहिले नै तयारी गर्नुपथ्र्यो । तर स्वास्थ्यमन्त्रीले मजाक गरइरहेका छन् । केही काम गरेका छैनन् ।

-तरुण साप्ताहिकबाट साभार