ओखलढुङ्गाका छ मजदुर जुम्लामा अलपत्र

ओखलढुङ्गाका छ मजदुर जुम्लामा अलपत्र

ओखलढुङ्गा, २१ वैशाख । ओखलढुङ्गाका छ युवक जुम्लामा अलपत्र परेका छन् । जिल्लाको खिजिदेम्बा गाउँपालिका–४ खिजीकातीका युवा लकडाउनका कारण जुम्लामा अलपत्र परेका हुन् ।

काठ चिरानको कामका लागि गत फागुन २७ गते जुम्ला पुगेका उनीहरु लकडाउनका कारण गाउँ फर्कन नसकेका हुन् । कोरोनाको डरले काम गर्ने अवस्था नभएको र लकडाउनका कारण घर फर्कन पनि नसकेको अलपत्र युवक सुकवीर तामाङले बताउनुभयो ।

लामो समयको लकडाउनले आफूहरुलाई खान बस्नसमेत समस्या भएको उहाँको भनाइ छ । “हामी छ जना यहाँ जुम्लामा रोेकिएर बसेका छौँ । खान–बस्न समस्या भइरहेको छ । गाउँ फर्कन चाहन्छौँ तर सम्भावना भएन”, उहाँले रासससँग टेलिफोनमा भन्नुभयो, “स्थानीय सरकारले अलपत्र परेका नागरिकलाई उद्धार गरेको सुनियो । हामीलाई पनि सहयोग गरिदिएहुन्थ्यो ।” अझै लामो समय लकडाउन भए थप समस्या हुने भएकाले उद्धारका लागि उनीहरुले अपिल गरेका छन् ।

खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष वेदबहादुर रोकाले टाढाका अलपत्र नागरिकलाई गाउँ फर्काउन सक्ने अवस्था नरहेको बताउनुभयो । राजधानी काठमाडौँबाट गाउँ फर्कन चाहनेलाई स्थानीय सरकारले सवारी व्यवस्था गरेर ल्याएको भए पनि जुम्लामा अलपत्र परेकालाई गाउँ ल्याउन अहिले सम्भव नहुने उहाँको भनाइ छ । खिजीदेम्बाले करिब ७०० नागरिकलाई राजधानीबाट उद्धार गरेर गाउँ फर्काएको छ । रासस