सन्दर्भ पत्रकार महासंघको ६५औँ स्थापना दिवस : सञ्चार क्षेत्रको पुनर्संरचनामा जोड

सन्दर्भ पत्रकार महासंघको ६५औँ स्थापना दिवस : सञ्चार क्षेत्रको पुनर्संरचनामा जोड

काठमाडौं, १५ चैत । भाेलि चैत १६ अर्थात् नेपाल पत्रकार महासंघको ६५औं स्थापना दिवस । पत्रकार महासंघले भोलि चैत १६ गते महासंघको ६५औँ दिवस मनाउँदैछ । कोरोना भाइरसको विश्वव्यापी संक्रमणले यसवर्ष औपचारिक कार्यक्रम नगर्न पनि महासंघले मातहतका शाखाहरुलाई निर्देशन दिएको छ ।

यही अवसरमा महासंघका अध्यक्ष गोविन्द आचार्यले शुभकामना व्यक्त गर्नुभएकाे छ । शुभकामना सन्देशमा नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्म र भावनाअनुरुप नेपाली सञ्चार क्षेत्रको पुनर्संरचना अहिलेको प्रमुख आवश्यकता रहेकोमा जोड दिइएकाे छ । अध्यक्ष आचार्यले संघ, प्रदेश र स्थानीय तहमा प्रेसमैत्री सञ्चार नीति, कानून र संरचना निर्माणका लागि महासंघले पहल र खवरदारी गर्दै आएको स्मरण गराउनु भएकाे छ ।

यस्ताे छ शुभकामना सन्देशको पूर्णपाठ

नेपाली पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासंघ २०७६ चैत १६ गते आफ्नो स्थापनाको ६५ औं वर्षमा प्रवेश गर्दैछ । यस अवसरमा देशैभर र विश्वका विभिन्न देशमा छरिएर रहेका महासंघका सदस्यसहित आमनेपाली सञ्चारकर्मीका साथै लोकतन्त्र, नागरिक अधिकारका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूमा म हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।

नेपाल पत्रकार महासंघले स्थापनाकालदेखि नै नेपालमा श्रमजीवी पत्रकारको हक, हित र अधिकार तथा स्वतन्त्र पत्रकारिताको संस्थागत विकासका साथै राष्ट्रियता, लोकतन्त्र एवम् नागरिक अधिकारका लागि अहम् भूमिका खेल्दै आएको छ । यसमा हाम्रा अग्रजहरूको योगदान र महासंघको गौरवपूर्ण इतिहासप्रति महासंघ केन्द्रीय समिति गर्व गर्दछ ।

आगामी दिनमा जस्तोसुकै प्रतिकूल अवस्थामा पनि हाम्रो संघर्षपूर्ण इतिहास र अग्रजहरूले देखाएको मार्गबाट रत्तिभर विचलित नभई महासंघको उद्देश्य हासिल गर्न अझ दृढतापूर्वक लागिरहने प्रतिवद्धता पनि यस अवसरमा व्यक्त गर्न चाहन्छु । यतिवेला नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था कायम छ ।

सञ्चार क्षेत्र विभिन्न अवसर र चुनौतीबीच गुज्रिरहेको छ । देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको संस्थागत अभ्यास सुरु भएसँगै केन्द्र, प्रदेश र स्थानीय तहमा निर्वाचनमार्फत् जनप्रतिनिधिहरूले सरकार सञ्चालन गरेको दुई वर्षभन्दा बढी समय बितिसकेको छ । यसबीचमा सञ्चार क्षेत्रले राज्यका सबै निकायका काम कारवाहीको निगरानी गर्नुका साथै सत्य–तथ्य सूचना प्रवाह र जनताका आवाजहरूलाई सार्वजनिक गर्ने आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको छ ।

यसैगरी राष्ट्रिय सम्वृद्धि र विकासका पक्षमा नेपाली मिडिया जगत् र आमसञ्चारकर्मीको योगदानप्रति म हार्दिक आभार प्रकट गर्दछु । नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्म र भावनाअनुरुप नेपाली सञ्चार क्षेत्रको पुनर्संरचना अहिलेको प्रमुख आवश्यकता हो । संघ, प्रदेश र स्थानीय तहमा प्रेसमैत्री सञ्चार नीति, कानून र संरचना निर्माणका लागि महासंघले पहल र खवरदारी गर्दै आएको स्मरण गराउन चाहन्छु । नेपालको संविधान र राष्ट्रिय आमसञ्चार नीति २०७३ लाई कार्यान्वयन गर्नुका साथै सोही नीति अनुरुप सरोकार पक्षसँगको छलफल र सहमतिमा सूचना तथा सञ्चारसम्बन्धी कानुनी र संरचनागत व्यवस्थाका लागि नेपाल सरकार र सम्वन्धित निकायलाई महासंघले पटकपटक आग्रह गर्दै आए पनि हाम्रा सरोकारहरुको उचित सुनुवाई हुन सकेको छैन ।

प्रेस स्वतन्त्रता विरोधी प्रावधान राखेर सरकारले संसद्मा प्रस्तुत गरेका कतिपय कानूनमा आंशिक सुधार भए पनि हाम्रा सरोकारहरुको पर्याप्त सम्बोधन हुन सकेको छैन । जसका कारण सञ्चार क्षेत्रमा अझै पनि संघीयता कार्यान्वयन हुन सकेको छैन र संक्रमणकै अवस्था कायम छ । यस अवसरमा म पुनः महासंघसहित सरोकार पक्षसँग पर्याप्त छलफल र सहमतिमा प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेण्टी गर्ने गरी सञ्चारसम्बन्धी कानून अघि बढाउन आग्रह गर्दछु ।

महासंघले अगाडि सार्दै आएका श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, सञ्चारमाध्यमलाई सञ्चार सेवा उद्योगको मान्यता, साना लागानीका स्वरोजगारमूलक र गैरनाफामूलक सञ्चार माध्यमको प्रवद्र्धन, पत्रकारको दक्षता अभिवृद्धिका लागि केन्द्र र प्रदेश स्तरमा आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको स्थापना, सार्वजनिक सेवा प्रसारक संस्थाको स्थापना, आमसञ्चार प्राधिकरण, विज्ञापन परिषद्जस्ता निकायको स्थापना, प्रेस काउन्सिलको पुर्नसंरचना, समानुपातिक विज्ञापन वितरण प्रणालीको कार्यान्वयन, पत्रकारका लागि दुर्घटना तथा स्वास्थ्य बीमा, जेष्ठ तथा अशक्त पत्रकारलाई जीवन निर्वाह भत्ता वितरणको व्यवस्था एवं आमसञ्चार विकास कोषको स्थापनालगायतका मागहरू पूरा गर्न सरकारसहित सम्बन्धित निकायहरूमा म पुनः ध्यानाकर्षण गराउँदछु । पछिल्ला दिनहरूमा प्रेस स्वतन्त्रता हनन्का घटनामा संख्यात्मकरूपमा केही कमी आए पनि प्रवृत्तिगत अवस्था उस्तै रहेको छ भने दण्डहीनता र सेल्फसेन्सरसीपको अवस्था पनि कायमै छ ।

श्रमजीवी पत्रकारहरूका समस्या ज्यू का त्यू छन् । यस अवस्थामा नेपाली मिडिया उद्योगको संस्थागत विकास र श्रम अधिकारको स्थापना एवम् सञ्चार क्षेत्रका समस्या समाधानका लागि यस क्षेत्रमा आवद्ध सवैको साझा सरोकार हुनुपर्नेतर्फ ध्यानाकर्षण गराउदछु । महासंघ यी सबै समस्या समाधानका लागि सञ्चार क्षेत्रका विभिन्न संघ, संस्था र व्यक्तित्वहरुसँग बृहद एकता र साझेदारीका साथ अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दछु ।

नेपाल पत्रकार महासंघ नेपालकै पहिलो लोकतान्त्रिक चरित्रको नागरिक संस्था हो । अहिले महासंघ मातहत १० प्रदेश समिति, ७६ जिल्ला शाखा, ४२ प्रतिष्ठान शाखा, ११ बैदेशिक शाखा र १२ एशोसिएट संस्था आवद्ध छन् । मुलुकका संघसंस्थामध्ये सबैभन्दा बढी समावेशी र सबैभन्दा पहिले संघीय ढाँचामा जाने संस्था बनेकोमा हामी गर्व गर्दछौ । महासंघले स्थापनादेखि नै निरन्तररुपमा लोकतान्त्रिक विधि र प्रक्रियावाट नेतृत्व चयन गर्नुका साथै नियमितरुपमा आफ्ना अधिवेशन र साधारणसभा गर्दै आएको छ । यस वर्ष महासंघको अधिवेशन सम्पन्न गर्नुका साथै प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत् केन्द्र, प्रदेश र शाखाहरुको नेतृत्व चयन गर्नुपर्ने दायित्व पनि हाम्रा सामु छ । यी जिम्मेवारी पूरा गर्न आम सदस्य साथीहरु र शुभेच्छुकहरु विगतमा झै साथ र सहयोग प्राप्त हुने अपेक्षा गर्दछु ।

स्थापना दिवसको पूर्वसन्ध्यामा म नेपाल पत्रकार महासंघलाई शुभकामना तथा शुभेच्छा प्रकट गर्नुहुने सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दै स्थापना दिवसको यस दिनले हामीलाई आफ्नो कर्तव्यपथमा निष्ठापूर्वक लाग्न अझ बढी प्रेरणा दिने अपेक्षा गर्दछु । साथै, यसपटक विश्वभर महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरसको सक्रमणका कारण नेपालमा स्थापना दिवसका अवसरमा खुल्ला कार्यक्रम आयोजना गर्ने अवस्था रहेन ।

यस्तो अवस्थामा सम्पूर्ण सञ्चारकर्मी साथीहरुलाई कोरोनाको संक्रमण नियन्त्रणमा सघाउ पु¥याउने गरी सचेतनामूलक सामग्री प्रवाह गर्न आग्रह गर्दछु । आफू सुरक्षित रही सत्य, तथ्य र सन्देशमूलक सामग्री प्रवाह गर्ने आफ्नो दायित्वप्रति सबै पत्रकार सजग रहेको महासंघको विश्वास छ । महासंघ स्थापना दिवसको यस अवसरमा विभिन्न संचार माध्यमहरुमार्फत् महासंघको औचित्य, योगदान र अग्रजहरुको भूमिका एवम् नेपाली सञ्चार क्षेत्रका तमाम मुद्दाहरुबारे चर्चा, परिचर्चा र बहस अघि बढाउन म महासंघमा आवद्ध साथीहरुमा आग्रह गर्दछु ।

स्थापना दिवसका अवसरमा गत वर्षहरुमा महासंघका पूर्वसभापति तथा अध्यक्ष, उपसभापति, उपाध्यक्ष र महासचिवलाई सम्मान गरिएको छ । यस वर्ष पूर्वसचिव र कोषाध्यक्षहरुलाई सम्मानको कार्यक्रम केही समय पछि गरिने जानकारी गराउँदै महासंघको संस्थागत विकास र सहकार्यका लागि सम्पूर्ण पत्रकार, मिडिया व्यवस्थापक, पत्रकारिता सम्वद्ध संघसंस्था र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको क्षेत्रमा क्रियाशील संघसंगठनको नेतृत्व तथा सदस्यहरूलाई हार्दिक आभार व्यक्त गर्दछु ।

…………………

गोविन्द आचार्य

अध्यक्ष