आजदेखि नेपाल लकडाउन, घरबाहिर ननिस्कन र गाडी नचलाउन निर्देशन

  • 427
    Shares
आजदेखि नेपाल लकडाउन, घरबाहिर ननिस्कन र गाडी नचलाउन निर्देशन

काठमाडौं, ११ चैत । कोरोना भाइरस संक्रमणको महामारी रोक्ने प्रयासमा आजदेखि पूरै देश लकडाउन भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोरोना संक्रमणसम्बन्धी उच्चस्तरीय समितिको हिजो बसेको बैठकले आजदेखि देशलाई पूर्णरुपमा लक डाउन गर्ने निर्णय गरेको हो । आज बिहान ६ बजेदेखि देशैभरिका नागरिकलाई घरबाहिर निस्कन नदिने र विशेष पास भएका बाहेक अरु कुनै पनि गाडी र जहाज चल्न नदिने निर्णय अनुसार बिहानैदेखि लकडाउन सुरु भएको हो ।

सरकारले कुनै पनि बहानामा घरबाहिर ननिस्कन र गाडी नचलाउन निर्देशन दिएको छ । सरकारको निर्देशन अनुसार केहीबेरमा देशैभरि प्रहरी पनि परिचालनको तयारी गरिएको गृह मन्त्रालयले जनाएको छ ।

सुरक्षा निकाय र एम्बुलेन्स र अत्यावश्यक काममा खटिनेहरुको लागि विशेष पास लिएका गाडी भने चल्न पाउनेछन् । यस्तै अत्यावश्यक सेवा बाहेक कर्मचारीलाई पनि घरमै बस्न भनिएको छ ।

लकडाउन संक्रामक रोग ऐन-२०२० अनुसार केन्द्रीय सरकार तथा प्रदेश सरकारले गर्न सक्छ , कर्फ्यू स्थानीय प्रशासन ऐनअनुसार जिल्ला सुरक्षा समितिबाट निर्णय गराएर प्रमुख जिल्ला अधिकारी (सीडीओ) ले लगाउन सक्छ ।

लकडाउन कर्फ्यु जस्तो कडा हुँदैन । तर, लकडाउनको आदेश पालना नगर्नेहरुलाई ६ महिनासम्म कैद र ६ महिनासम्म जरिवाना वा दुवै सजायँ हुने कानुनी व्यवस्था छ ।

नेपाल सरकारले आउँदो चैत १८ गतेसम्म देश लकडाउन गरेकाे छ ।

हेर्नुहोस् निर्णयहरू:

१. औषधि उपचार, खाद्य वस्तु खरिदजस्ता अत्यावश्यक काममा बाहेक कुनैपनि व्यक्ति घरबाट बाहिर ननिस्किने ।

२‍. अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुबाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाउने ।

३. सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानबाहेक अन्य सबै आन्तरिक व्यवसायिक उडानहरू बन्द गर्ने ।

४. स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत्, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापनजस्ता अति आवश्यक सेवाबाहेक अन्य कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने कर्मचारीहरू मात्र उपस्थित हुने व्यवस्था गरी अन्य कर्मचारीहरूलाई आवश्यक परेको बखत तत्काल उपस्थित हुने गरी सम्बन्धित कार्यालय प्रमुखले बिदा दिने ।

५. औषधि तथा स्वास्थ्य उपकरण, खाद्य वस्तु, खानेपानी, दूध, इन्धन उत्पादन गर्ने उद्योगहरूबाहेक निजी क्षेत्रबाट सञ्चालित अन्य उद्योग, कलकारखानामा काम गर्ने श्रमिक, कर्मचारीहरूलाई सम्बन्धित उद्योगले बिदा दिने व्यवस्था मिलाउने ।

६. व्यवसायीहरूले औषधि र औषधिजन्य सामग्रीहरूको नियमित आपूर्तिको व्यवस्था गर्ने । अभाव देखाई मूल्य वृद्धि गर्ने वा कालाबजारी, जम्माखोरी गर्ने वा लुकाउने वा आपूर्तिमा अवरोध गर्ने व्यक्तिलाई प्रचलित कानूनबमोजिम नियन्त्रणमा लिने, सामग्री जफत गरी रोगको रोकथाम र उपचारको कार्यमा उपयोग गर्ने ।

७. संक्रामक रोग ऐन, २०२० को दफा २ को उपदफा (२) बमोजिम जारी यस आदेशको कार्यान्वयनका लागि आवश्यक व्यवस्था मिलाउन नेपाल राज्यका सबै प्रमुख जिल्ला अधिकारीलाई मुकरर गर्ने र सोका लागि स्थानीय प्रशासन ऐन, २०२८ को समेत आवश्यकताअनुसार प्रयोग गर्ने ।

८. संक्रामक रोग ऐन, २०२० अन्तर्गत जारी आदेशको अपहेलना गर्ने वा काममा बाधा पुर्‍याउने व्यक्तिलाई सोही ऐनबमोजिम सजाय हुने ।