कोरोना भाइरस संक्रमणः आशंका गरिएका बिरामी टेकु अस्पतालबाट भागे

कोरोना भाइरस संक्रमणः  आशंका गरिएका बिरामी टेकु अस्पतालबाट भागे

काठमाडौं, २९ माघ । कोरोना भाइरस संक्रमणको आशंकामा टेकु अस्पतालमा निगरानीमा राखिएका एक बिरामी भागेका छन् । चीनको बाटो हुँदै नेपाल आएका उनी साउदी अरबका नागरिक भएको स्वास्थ्य तथा जनसंंख्या मन्त्रालय स्रोतले राष्ट्रवाणी डट कमलाई जानकारी दिएको छ ।

एक साताअघि रुघाखोकी र ज्वरो आएपछि उनी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जाँच गर्न पुगेका थिए । सामान्य चेकजाँच गर्ने क्रममा उनलाई कोरोनाको आशंका भएपछि अस्पतालले निगरानीमा राख्ने निर्णय गरेको थियो ।

तर, निगरानीमा राख्ने तयारी गर्दागर्दै उनी भागेका हुन् । उनको कोरोना परीक्षण गर्न बाँकी नै रहेको तर बीचमै भागेको अस्पतालले जनाएको छ । अहिले ती व्यक्तिको खोजी कार्य भइरहेको बताइएको छ । भाषाको समस्याका कारण उनलाई नियन्त्रणमा राख्न नसकिएको अस्पतालको भनाइ छ । बुधबार मात्रै कोरोना भाइरस संक्रमणको आशंकामा तीनजनालाई टेकु अस्पताल भर्ना गरिएको छ ।