उपनिर्वाचनको लागि आज मनोनयन दर्ता

उपनिर्वाचनको लागि आज मनोनयन दर्ता

काठमाडौं, २१ कर्तिक । आउँदो मंसिर १४ गते हुने उपनिर्वाचनको लागि आज मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगकाअनुसार प्रतिनिधि सभा र प्रदेश सभाको मनोनयन दर्ता आज गरिदैछ ।

स्थानीय तहको मनोनयन दर्ता गर्ने मिति भने कार्तिक २७ गतेका लागि तोकिएको छ । स्थानीय तहको उपनिर्वाचन हुने क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र अधिकृतको कार्यालय स्थापना पनि हिजै गरिसकिएको आयोगले जनाएको छ ।

यो निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतका रुपमा ३७ जना जिल्ला न्यायाधीश खटिंदैछन् भने न्याय सेवाका ५२ जना उपसचिवलाई निर्वाचन अधिकृतका रुपमा खटाउने तयारी रहेको छ । साथै विराटनगर, काठमाडाैं र नेपालगञ्जमा मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र जिल्ला निर्वाचन अधिकृतहरुको निर्वाचन सञ्चालनका लागि व्यवस्थापन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको आयोगको भनाइ छ ।

मंसिर १४ गते हुने उपनिर्वाचनको लागि निर्वाचन हुने स्थानहरुमा निर्वाचन अधिकृतहरुको लागि कार्यालयहरु स्थापना यसअघि नै गरिसकेको निर्वाचन आयोगले जानकारी दिएको छ । आज मनोनयन दर्ताका लागि बिहान १० देखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ ।

उम्मेदवारले मनोनयनपत्र दर्ता गर्दा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यका लागि प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य उप-चुनाव निर्देशिका, २०७६ को दफा २२ को अनुसूची-५ र स्थानीय तहका लागि स्थानीय तह निर्वाचन नियमावली, २०७३ को नियम ५ को अनुसूची-१ बमोजिमको ढाँचामा मनोनयनपत्र दाखिला गर्नुपर्नेछ ।

३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३ तथा स्थानीय तहका प्रमुख १, अध्यक्ष ३, उपाध्यक्ष १ र वडाध्यक्ष ४३ गरी ५२ पदका लागि उप-चुनाव हुने भएको हो ।

स्थानीय तहको मनोनयन दर्ता भने कात्तिक २७ गते हुनेछ । मतदान भने १४ मंसिरमै हुनेछ । विभिन्न कारणले रिक्त ५२ पदका लागि उप-चुनाव हुन लागेको हो । ३७ जिल्लामा हुने उप-चुनावबाट प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३, स्थानीय तहको प्रमुख १, अध्यक्ष ३, उपाध्यक्ष १ र वडाध्यक्ष ४३ पदमा जनप्रतिनिधि चुनिनेछन् ।

उप-चुनावमा सहभागी हुने दलहरूको संख्या १ सय १ छ । आयोगले २ सय ४७ मतदानस्थल र ५ सय ३७ मतदान केन्द्र तोकेको छ । यस्तै मुख्य निर्वाचन अधिकृत ३७ र निर्वाचन अधिकृत ११ जना नियुक्त गरिएको छ ।

मनोनयन दर्तामा चाहिने कागजात

(१) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचयपत्रको प्रतिलिपि ।
(२) अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा ।
(३) राजनीतिक दलले प्रदान गरेको उम्मेदवार मनोनयनको औपचारिकपत्र (राजनीतिक दलको उम्मेदवारको हकमा) ।
(४) प्रतिनिधि सभा सदस्यको लागि १० हजार रुपैयाँ र प्रदेश सभा सदस्यको लागि पाँच हजार रुपैयाँ धरौटी ।
(५) मतदाता नम्बर
(६) सम्पत्ति विवरण
(क) घर संख्या
(ख) घर रहेको स्थान
(ग) जग्गाको विवरण (जिल्ला, गाउँपालिका/नगरपालिका, वडा नं., कि.नं., क्षेत्रफल)

(७) प्रतिनिधि सभा सदस्य वा प्रदेश सभा सदस्यको पदमा उम्मेदवारी दिँदा कुनै लाभको पद वा निर्वाचित पदमा बहालवाला पदाधिकारी भए निजले बहाल रहेको पदबाट राजीनामा दिएको दर्ताको निस्सा ।