राष्ट्रिय वाणिज्य बैंकमा इन्टर्नसिप

राष्ट्रिय वाणिज्य बैंकमा इन्टर्नसिप

काठमाडौँ, १ कार्तिक । राष्ट्रिय वाणिज्य बैंकले २८ वर्षभन्दा मुनिका ३० युवाका लागि रोजगारीको अवसर ल्याएको छ । ‘आरबीबी इमपावरमेन्ट एकेडेमी’ अन्र्तगत ल्याइएको यस कार्यक्रमले तीनमहिने इन्टर्नसिपमार्फत रोजगारी दिने वाणिज्य बैंकका कार्यकारी प्रमुख किरणकुमार श्रेष्ठले बिहीबार पत्रकार सम्मेलनमा बताएका हुन् ।

‘यो कार्यक्रम फाइनान्सियल ट्रेनिङ सेन्टरका रूपमा अगाडि लैजाने उद्देश्यले सुरु गरिएको हो,’ उनले भने, ‘वित्तीय क्षेत्रमा भविष्य बनाउन ठूलै शिक्षित जमात लालायित भइरहेको परिप्रेक्षमा र रोजगार उन्मुख यस्ता किसिमका तालिमहरूले युवाको वृद्धि विकासमा सहयोग गर्नेछ ।’

एकेडेमीले कात्तिक १ बाट नि:शुल्क आवेदन दिन सक्ने गरी वित्तीय क्षेत्रमा रोजगारी पाइने तीनदिने टेक्निकल, बिहेबिरल र प्राक्टिकल बैंकिङ विषयगत तयारी कक्षा सञ्चालन गर्नेछ । वर्षमा २ पटक आयोजना गरिने यस कार्यक्रमले ५/७ सय युवाले रोजगारी पाउन सक्ने उनले बताए ।

पहिलो चरणको ट्रेनिङ प्रदेश ३ अन्तर्गत स्नातक र स्नाकोत्तर डिग्री भएका विद्यार्थीलाई लक्षित गरी आवेदन आह्वान गरिएको छ । वित्तीय क्षेत्रका अनुभवी बैंकरहरूद्वारा नि:शुल्क दिइनेछ ।