असाेज ३ देखि फिल्म हलमा राष्ट्रिय गान अनिवार्य

असाेज ३ देखि फिल्म हलमा राष्ट्रिय गान अनिवार्य

काठमाडाैं, ५ भदाै । संविधान दिवसका दिनदेखि मुलुकभरका फिल्म हलले चलचित्र सुरु हुनुअघि अनिवार्य रूपमा राष्ट्रिय गान बजाउनुपर्ने भएको छ।

असोज ३ मा संविधान दिवस मनाउनका लागि मूल समारोह समिति गठन गर्न बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सरकारका सबैजसो मन्त्री र सचिवसहितको बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा सम्पूर्ण फिल्म हललाई त्यस्तो निर्देशन दिएको हो।

राष्ट्रिय गानको सम्मानमा सबै दर्शक अनिवार्य उभिनुपर्ने जानकारीसमेत गृहले दिएको छ। ‘बैठकले सञ्चार मन्त्रालयको प्रस्तावमा फिल्म हललाई संविधान दिवसका दिनदेखि अनिवार्य रूपमा सधैंलाई राष्ट्रिय झन्डा फहराउन र राष्ट्रिय गान बजाउन निर्देशन दिएको छ,’ गृह प्रवक्ता रामकृष्ण सुवेदीले भने, ‘राष्ट्रिय गानको मर्यादा राख्न सबै उभिनैपर्छ, त्यो भनिरहनै पर्दैन।’

राष्ट्रिय झन्डा तथा राष्ट्रिय गान प्रयोगसम्बन्धी कार्यविधि २०६९ अनुसार सरकारले चलचित्र सुरु हुनुअघि राष्ट्रिय गान बजाउन अनिवार्य गरेको हो। ‘कुनै पनि राष्ट्रिय उत्सव वा विभिन्न औपचारिक कार्यक्रम तथा फौजी प्रकृतिका सामेली, सैन्य सम्मान, खेलकुद समारोह र विद्यालय प्रार्थनामा राष्ट्रिय गान गाउनुपर्ने छ। याे खबर आजकाे कान्तिपुर दैनिकबाट लिएका हाैं ।