‘छक्का पञ्जा २’ र ‘मेरो पैसा खोइ’ रिलीज

‘छक्का पञ्जा २’ र ‘मेरो पैसा खोइ’ रिलीज

काठमाण्डौ। यसपालीको दशैँको अवसर पारेर दुई नेपाली चलचित्रहरु रिलीज भएका छन् । चलचित्र ‘छक्का पञ्जा २’ देशैभर र चलचित्र ‘मेरो पैसा खोइ’ राजधानीमा एकसाथ रिलीज भएका छन् । राजधानी बाहिर भने ‘मेरो पैसा खोइ’ अर्को हप्ता रिलीज हुनेछ ।

‘छक्का पञ्जा २’ रिलीजसँगै देशैभरका हलहरुमा भिडभाड देखिएको छ भने ‘छक्का पञ्जा २’ भन्दा कम हलमा लागेको ‘मेरो पैसा खोइ’मा पनि दर्शकको उपस्थिती छ । ‘मेरो पैसा खोइ’ले रिलीजको अघिल्लो दिन गरेको बिशेष शोले तारिफ पाएको थियो । चलचित्र ‘छक्का पञ्जा २’ हेरेपछि चलचित्र मनोरञ्जनात्मक र सन्देश मुलक रहेको प्रतिक्रिया पाईएको छ ।

पहिलो भागमा नदेखिएका स्वस्तिमा खड्का र स्वरूपपुरुष ढकाल ‘छक्का पञ्जा २’को लिड कलाकारको रुपमा रहेका छन् । पढेपछि विदेश जान हतारिने युवा-युवती र बुवाआमाको जिम्मेवारी यो चलचित्रले देखाउँछ । दीपाश्री निरौला निर्देशित चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल, बुद्धि तामाङ, प्रियंका कार्की, किरण केसी, बर्षा राउत, निश्चल बस्नेत लगायतका कलाकारहरुको पनि मुख्य भूमिका रहेको छ । चलचित्रका कार्यकारी निर्माता विकास आचार्य हुन् ।

पटकथा तथा संवाद दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र अभिमन्यू निरवीले लेखेका हुन् । दीपक-दीपाको प्रस्तुतीमा तयार भएको यो चलचित्रमा जीतु नेपाल, माग्ने बुढो डटकम, ताराचन्द्र चापागाँई, सुमन गिरीको लगानी रहेको छ ।

रोज राणाले निर्माण र निर्देशन गरेको ‘मेरो पैसा खोइ’मा यौन व्यावसायमा संलग्न महिलाहरुको कथा छ । चलचित्रमा सौगात मल्ल, वर्षा राउत, छुल्ठिम गुरुङ्, सागर तिवारी, कमलमणी नेपाल, बुद्धी तामाङ, प्रमोद अग्रहरी र रविन तामाङ लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । चलचित्रमा हरि घले लामाको छायांकन, सुवास देवकोटाको सम्पादन, कमल राईको कोरियोग्राफी रहेको छ ।