साम्राज्ञीले गर्ने भइन् चलचित्र ‘रातो टिका निधारमा’

साम्राज्ञीले गर्ने भइन् चलचित्र ‘रातो टिका निधारमा’

काठमाडौँ ,चैत १९।अभिनेत्री साम्राज्ञी आरएल शाहले भेट्रान निर्देशक अशोक शर्माको नयाँ चलचित्र ‘रातो टिका निधारमा’ गर्ने पक्का भएको छ । केही दिनयता निर्देशक शर्मा अभिनेत्रीको खोजीमा थिए । सोमवार बिहानमात्र साम्राज्ञीलाई उनले लिड अभिनेत्रीमा अनुबन्ध गरेका हुन् । उनी चलचित्रमा निर्देशक शर्माका छोरा अंकित शर्माको अपोजिटमा देखिनेछिन् । यसमा उनले १६ लाख पारिश्रमिक बुझेकी छन् ।

यसअघि पनि निर्देशक शर्माले अभिनेत्री साम्राज्ञीलाई यस वर्षको दशैंमा प्रदर्शनमा आएको चलचित्र ‘जय भोले’ मा अभिनेत्री स्वस्तिमा खड्काले निभाएको रोल अफर गरेका थिए । त्यसबेला उनी ‘इन्टु मिन्टु लण्डनमा’ को छायांकनमा व्यस्त भएका कारण उक्त चलचित्र गर्न पाएकी थिइनन् । तर, उनले गाउँले रोल भएका कारण रिजेक्ट गरेको चर्चा सिनेवृतमा चलेको थियो । यो कुराको अभिनेत्री शाह र निर्देशक शर्माले खण्डन गरेका थिए ।नीता ढुंगाना, रबिन्द्र झा, बुद्धि तामाङ, जयनन्द लामा, राजाराम पौडेल, शिवहरी पौडेल, लक्ष्मी गिरीलगायतका कलाकारहरुको पनि ‘रातो टिका निधारमा’ मा अभिनय रहनेछ । यस चलचित्रमा दशक अगाडि प्रदर्शनमा आएको निर्देशक शर्मा निर्देशित सुपरहिट चलचित्र ‘अल्लारे’ मा समावेश ‘रातो टिका निधारमा’ गीतलाई रि-एरेञ्ज गरेर राखिने छ ।

चलचित्रको बैशाख अन्तिम साताबाट छायांकन सुरु हुँदैछ । अर्को वर्षको दशैंमा प्रदर्शनमा आउने निश्चित भइसकेको यस चलचित्रलाई निर्देशक शर्माले नै निर्माण र निर्देशन गर्नेछन् । अहिले चलचित्रको गीत रेकर्डिङको काम भइरहेको छ । साम्राज्ञीभन्दा अगाडि यो चलचित्र अभिनेत्री जसिता गुरुङलाई अप्रोच गरिएको थियो । तर, उनले १० लाख डिमाण्ड गरेपछि सहमती हुन सकेको थिएन ।