नेकपा माओवादी केन्द्रका नेता एवम् नवनिर्वाचित सांसद अमनलाल मोदीले यही माघ महिनाभित्रै एमाले–माओवादी केन्द्रवीच एकता हुने र फागुण दोस्रो सातामा नयाँ सरकार गठन हुने दाबी गरेका छन् ।
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मोदीले भने,‘हामीहरुवीच पार्टी एकता यही माघ महिनाभित्रै हुन्छ, यसमा कुनै शंका छैन, सरकार गठनभन्दा पहिले नै पार्टी एकता भैसक्छ, गृहकार्य जारी छ, सरकारपनि फागुणको दोस्रो साता बनिसक्छ।’ उनले पार्टी एकतापछि नेताहरुको व्यवस्थापन पनि समझदारीमा नै टुँगो लगाउने स्पष्ट पारे ।
मोदीले पार्टी एकतापछि प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओली भए एकीकृत पार्टीको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुने यदि प्रचण्ड प्रधानमन्त्री भए ओली अध्यक्ष हुने समेत विश्वास दिलाए ।
उनले भने,‘एकजना नेता एउटा जिम्मेवारीमा हुँदा अर्को नेता अर्को जिम्मेवारीमा बस्नुहुन्छ, एकजना प्रधानमन्त्री अर्को अध्यक्ष नै हो, किनकी यो कुनै पार्टीमा विलय हुने कुरा होईन, यो त एकता हो नि।’
नेता मोदीले एमाले र माओवादी विना कम्युनिष्ट केन्द्रको पूर्णता नहुने बताउँदै दुई पार्टीलाई हाईड्रोजन र अक्सिजनको संज्ञा समेत दिए ।
उनले भने,‘जसरी पानी बन्न हाईडाेजन र अक्सिजनको मिश्रण हुन्छ, यो वैज्ञानिक कुरा हो, त्यसैगरि एउटै कम्युनिष्ट केन्द्रको लागि दुवै पार्टीको उतिकै महत्व छ।’
निर्वाचन सम्पन्न भएसँगै एउटा युगको अन्त्य भएर नयाँ युगको सुरुवात भएको बताउँदै मोदीले भने,‘नयाँ युगमा नयाँ नेतृत्व हुनुपर्छ, नयाँ तरिकाले नेतृत्व गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो।’