आज फूलपाती, हर्ष बडाइँका साथ घर–घरमा फूलपाती भित्र्याइँदै

आज फूलपाती, हर्ष बडाइँका साथ घर–घरमा फूलपाती भित्र्याइँदै

-उपप्राध्यापक नारायणप्रसाद निरौला-
ज्योतिषाचार्य, वास्तुविद्

आज विक्रम संवत् २०७४ साल आश्विन ११ गते बुधबार हो । वर्तमानमा साधारण नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतु अन्तर्गत आश्विन शुक्ल पक्ष(दुर्गा पक्ष) को सप्तमी तिथि बेलुका ५।२२ बजेसम्म रहने छ । यो महिनाका देवता पद्मनाभ र मासदेवी ईषा हुन् । सूर्य कन्या राशिमा छन् भने वृहस्पति तुला राशिमा रहेका छन् । ज्येष्ठा नक्षत्र विहान ९।४१ बजेसम्म रहने छ । यसैगरी आज आयुष्मान योग र भद्रा करण रहेको छ । सूर्योदय प्रातः ५।५५ बजे छ भने सूर्यास्त बेलुका ५।५३ बजे हुने छ । आज चन्द्रमा वृश्चिक राशिमा रहने छन् । उत्तर र पश्चिम दिशाको यात्रा आज शुभ फलदायी रहने छ ।

आज दुर्गा पक्षको सातौँ दिन फूलपाती हो । आज कालारात्री भगवतीको विशेष उपासना गरिन्छ । आद्य शक्ति दुर्गा देवीका महाकाली ,महालक्ष्मी र महासरस्वती गरी तीन रूप छन् । तमोगुणमयी महाकाली भगवान् विष्णुकी योगनिद्रा र माया शक्ति हुन् । मधु र कैटभलाई बध गर्नका लागि ब्रह्माजीले जसको स्तुति गरेका थिए तिनै देवीको नाम महाकाली हो । उनका दश मुख,दस हात र दस पाउ रहेका छन् । जो श्याम वर्णकी छिन् । यस्ती महाकालीले आफ्ना हातमा खड्ग,बाण,गदा,शूल,चक्र,शंख,भुशुण्डी,परिघ,धनुष र मुण्डमाला धारण गरेकी छन् ।

आश्विन शुक्ल सप्तमी अर्थात् फूलपातीका दिनदेखि भगवतीको विशेष पूजा आराधना हुने गर्दछ । सप्तमी अर्थात् फूलपातीका दिन विभिन्न प्रकारका पत्र पुष्पादि घर घरमा भित्र्याइन्छ । यसैगरी यस दिन आठ वर्षीया कन्यालाई शाम्भवी नम सम्बोधन गरी विशेष पूजा पनि गरिन्छ । यस दिन सरस्वतीको पनि विशेष पूजा हुने गर्दछ । नवपत्रिका अर्थात् नौ थरीका पत्र पुष्पादि(फूलपाती) घरघरका पूजा स्थापनामा भित्र्याइन्छ । नवपत्रिकामा केरा,दारिम,धान,वेसार,मानक,कचु,वेल,अशोक र जमरा पर्दछन् ।

सम्पर्क : ९८०३३४४४६४