समायोजन प्रक्रियामा सहभागी हुने कर्मचारी बढ्दै

समायोजन प्रक्रियामा सहभागी हुने कर्मचारी बढ्दै

काठमाडौं, २१ पुस । सरकार र कर्मचारी सम्बद्ध ट्रेड युनियनबीच सहमतिसँगै कर्मचारी भटाभट समायोजन प्रक्रियामा सहभागी हुन थालेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समायोजन सफ्टवेयरमा हिजोसम्म देशभरका ३२ हजार कर्मचारी जोडिएका छन् ।

मन्त्रालयका प्रवक्ता तथा सहसचिव सुरेश अधिकारीले समायोजन प्रक्रियामा कर्मचारीको उत्साह बढ्न थालेको बताउनुभयो । उहाँले हिजोसम्म समायोजन सफ्टवेयरमा ३२ हजार कर्मचारी सम्पर्कमा आइसकेको जानकारी दिनुभयो । तीमध्ये १० हजारले समायोजन हुन चाहने तह उल्लेख गर्दै समायोजन फाराम नै भरिसकेको जानकारी प्रवक्ता अधिकारीले दिनुभयो ।

समायोजन फाराम भरेकामध्ये आधाभन्दा बढीले संघमैै समायोजन हुने चाहना व्यक्त गरेको मन्त्रालयले जनाएको छ । संविधानको धारा ३०२ बमोजिम केन्द्रीकृत शासन व्यवस्थामा नियुक्त भएका कर्मचारीलाई सरकारले संघ, प्रदेश र स्थानीय तहमा समायोजन गर्ने प्रक्रिया थालेको हो ।

यसै प्रायोजनका लागि सरकारले ल्याएको समायोजन अध्यादेश संसद्का दुइटै सदनबाट स्वीकृत भइसकेको छ । सुरुमा समायोजन प्रक्रियाविरुद्ध अधिकांश कर्मचारी आन्दोलित थिए । सरकारले प्रदेश र स्थानीय तहमा समायोजन भएर जाने कर्मचारीलाई संघमा आउने सबै खालका अवसर प्रदान गर्ने गरी संघीय निजामती सेवा ऐनमा व्यवस्था गर्ने प्रतिबद्धता जनाएपछि समायोजनमा कर्मचारी उत्साह बढेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत ११ पुसमा २१ दिनको समय दिएर देशभरका कर्मचारीलाई समायोजनमा सहभागी हुन आह्वान गरेको थियो । समायोजन हुन चाहने कर्मचारीले मन्त्रालयको सफ्टवेयरमार्फत समायोजनको फाराम भर्न सक्ने व्यवस्था मिलाइएको छ ।