भारतीय इतिहासकै महंगो, मुकेश अम्बानीको छोरीको बिहे खर्च १० अर्ब

भारतीय इतिहासकै महंगो, मुकेश अम्बानीको छोरीको बिहे खर्च १० अर्ब

एजेन्सी । भारतीय अर्बपति मुकेश अम्बानीले एक्ली छोरी इशा अम्बानीको बिहेमा करिब १० करोड डलर (करिब १० अर्ब) खर्च गरेका छन् । उनले छपाएको एउटैमात्र कार्डको मूल्य ३ लाख रुपियाँ थियो । दुवै परिवारका तर्फबाट ३ हजार कार्ड बाँडिएको थियो । यो बिहेलाई भारतीय इतिहासकै सबैभन्दा महंगो मानिएको छ ।

बिहेमा इशा अम्बानीका ससुरा उद्योगपति अजय पीरामलले इशालाई एउटा बंगला उपहार दिएका छन् । यो बंगला हिराको थिममा तयार गरिएको थियो । यसको मूल्य ४५२ करोड रुपियाँ रहेको बताइएको छ ।

बिहेमा विश्वभरबाट ठूला उद्योगपति, फिल्मी स्टार, विभिन्न क्षेत्रका सेलिब्रिटीलगायत सहभागी थिए । पूर्व अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टन पनि निम्तो मान्न भारत आइपुगेकी थिइन् । इशा अम्बानीको प्रि–वेडिङ कार्यक्रम उदयपुरको ओबेराय उदयविलास होटलमा भएको थियो । जसमा चर्चित अमेरिकी गायिका बियोन्सेले प्रस्तुति दिएकी थिइन् ।

समाचारका अनुसार मुकेश अम्बानीले पाहुनाको आवतजावतका लागि ९० भन्दा बढी विमान चार्टर्ड गरेका थिए । यसअघि ७ देखि १०डिसेम्बरसम्म चलाइएइको अन्न सेवा कार्यक्रमका क्रममा ५१०० गरिब मानिसलाई निःशुल्क खाना दिइएको थियो । अन्न सेवाका क्रममा हस्तकला बजार मेला पनि गरिएको थियो, जसमा पारम्परिक चित्र प्रदर्शनी भएको थियो ।

शुक्रबार मुम्बईको जियो गार्डेनमा ग्रान्ड रिसेप्सन आयोजना हुनेछ, जसमा बलिउड हस्ती, उद्योगपति र खेल जगतका हस्तीलाई निम्त्याइएको छ । यसक्रममा पाहुनाको मनोरन्जनकालागि म्युजिकल कन्सर्ट आयोजना गरिनेछ । -स्पेसखबरबाट