एजेन्सी । बलिउड अभिनेत्री सनी लियोनले लन्डनमा छायांकन सम्पन्न भएको एउटा नेपाली चलचित्रको आइटम गीतमा नृत्य गरेकी छिन् । सुरुमा हल्लामा सीमित नेपाली चलचित्रको गीतमा नृत्य गर्ने कुरालाई सनीले आफ्नो एक ट्वीट मार्फत प्रमाणित गरेकी हुन् ।
नोभेम्बर १ का दिन सनीले आफ्नो आधिकारिक ट्वीटर हेण्डलमा लेखिन्– नयाँ नेपाली चलचित्र पासवर्डको एउटा उत्कृष्ट डान्स नम्बरको सदस्य बन्न पाउँदा असाध्यै खुसी लागेको छ ।
चलचित्रकी अभिनेत्री परी रानाले समेत सनीसँग खिचिएका दुई तस्बिर फेसबुकमा अपलोड गर्दै सनीलाई चलचित्र पासवर्डकोसदस्य बनाउन पाएकोमा खुसी व्यक्त गरेकी छिन् । लन्डनको चिसोमा दुई दिन लगाएर छायांकन गरिएको उक्त गीतमा सनीले नेपाली कलाकार विक्रम जोशीसँग कम्मर मर्काएको बताइन्छ जसका लागि उनले दुई करोड रुपैयाँ पारिश्रमिक लिएको चर्चा छ ।
अर्जुन पोखरेलद्वारा संगीतबद्ध उक्त गीतमा गायिका दुर्गा खरेलको स्वर सुन्न सकिन्छ । संगीतकार पोखरेल पनि सनीले गीत सुनेर दिएको प्रतिक्रियाबाट खुसी छन् । सम्राट बस्नेतद्वारा निर्देशित चलचित्र पासवर्डमा अनुप विक्रम शाही, छुल्ठिम गुरुङ, बुद्धि तामाङ, विक्रान्त बस्नेत, रवीन्द्र झा, लिशा सुनार, परी राना आदिले अभिनय गरेका छन् ।