सिरहाको १७ स्थानीय तहमध्ये १६ तहको नतिजा सार्वजनिक

सिरहाको १७ स्थानीय तहमध्ये १६ तहको नतिजा सार्वजनिक

लहान, ७ असोज (रासस)  सिरहाको १७ स्थानीय तहमध्ये आज विहान सम्म सिरहा नगरपालिका बाहेक सबै स्थानीय तहको मतगणना सकिएको छ ।

अहिलेसम्म सार्वजनिक भएको सिरहाको १६ स्थानीय तहमध्ये नेकपा (माओवादी केन्द्र)ले ६ वटा स्थानीय तहमा विजयी भएको छ, भने संघीय समाजवादी फोरम नेपाल र नेकपा एमालेले चार÷चार तथा नेपाली काँग्रेसले दुई स्थानीय तहमा विजयी हासिल गरेका छन् ।

पछिल्लो पटक आज बिहान सम्पन्न सिरहाको गोलबजार नगरपालिकामा नेकपा माओवादी, लहान नगरपालिकामा नेकपा एमाले र सिरहाको बरियारपट्टि गाउँपालिका तथा लक्ष्मीपुर पतारी गाउँपालिकामा संघीय समाजवादी फोरम नेपाल विजयी भएका छन् ।

सिरहाको गोलबजार नगरपालिकामा नेकपा माओवादी केन्द्रका देवनाथ साह ६ हजार ४४३ मतसहित प्रमुखमा र रेशमकुमारी थापा(यशु) ६ हजार ३४९ मतसहित उपप्रमुखमा निर्वाचित हुनुभएको छ ।

उहाँहरुको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रमुख पदका उम्मेदवार श्यामकुमार श्रेष्ठले पाँच हजार ८९ मत प्राप्त गर्नुभयो, भने नेकपा एमालेकै उपप्रमुख पदका उम्मेदवार सुनितादेवी सिंहले चार हजार ९२५ मत प्राप्त गर्नुभएको छ ।

यस्तै सिरहाको लहान नगरपालिका प्रमुखमा नेकपा एमालेका मुनि साह सुडी ११ हजार ३०७ मतसहित प्रमुखमा र एमालेकै सरियारकुमारी चौधरी ११ हजार १६८ मतसहित उपप्रमुखमा विजयी हुनुभएको छ ।