अन्तरप्रदेश समन्वय परिषद्को बैठक आज बस्दै

अन्तरप्रदेश समन्वय परिषद्को बैठक आज बस्दै

काठमाडौं, २३ मंसिर । अन्तरप्रदेश समन्वय परिषद्को बैठक आज बस्दैछ । प्रदेश सरकारका एजेण्डा बोकेर सातै प्रदेशका मूख्यमन्त्री काठमान्डु आइसक्नु भएको छ ।

प्रदेश सरकार गठन भएको ८ महिनापछि पहिलो पटक हुन लागेको बैठकको एजेण्डाबारे प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले पनि तयारी गरेको छ । बैठकमा संघ र प्रदेशबीचको वित्तीय व्यवस्थापन, बजेट खर्च, विकास योजनाको कार्यान्वयन, योजना हस्तान्तरण, कार्यालय हस्तान्तरण, संगठन संरचना, कर्मचारी समायोजन, प्रहरी प्रशासनको परिचालन, आवश्यक कानुन निर्माणजस्ता दर्जनौं विषयमा छलफल हुनेछ ।

संविधानको धारा दुईसय ३४ ले अन्तरप्रदेश परिषद्को व्यवस्था गरेको छ । संघ र प्रदेशबीच, प्रदेश–प्रदेशबीच राजनीतिक विवाद समाधान गर्न परिषद्को व्यवस्था गरिएको हो । प्रधानमन्त्रीको अध्यक्षतामा गृहमन्त्री, अर्थमन्त्री र सम्बन्धित प्रदेशका मुख्यमन्त्री सदस्य रहने व्यवस्था छ ।

बैठकमा सातै प्रदेशका मुख्यमन्त्री र प्रमुख सचिवसहित केन्द्र सरकारका मन्त्री, राज्यमन्त्री, सचिव, योजना आयोगका उपाध्यक्ष, महान्यायाधिवक्ता, महालेखा परीक्षक सहभागी हुनेछ । बैठक बिहान ११ बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बोलाइएको छ ।