हङकङमा दिउँसै साढे दुई करोड डलरको गहना लुटियो

हङकङमा दिउँसै साढे दुई करोड डलरको गहना लुटियो

हङकङको सिम सा सुइस्थित एक ज्वेलरीबाट तीन जना लुटेराले करिब २ करोड ४० लाख हङकङ डलर बराबरको गहना लुटेका छन्। क्यान्टन रोडस्थित सिल्भरकर्ड सपिङ आर्केडको भुइँतलामा रहेको चो साङ साङ ज्वेलरीबाट गहना लुटेर लुटेराहरु मोटरसाइकलमा भागेपछि प्रहरीले उनीहरुको खोजी गरिरहेको छ।

बिहान करिब १० बजे हथौडा प्रहार गरी डिस्प्ले विन्डो फुटाएर उनीहरुले गहना लुटेको जनाइएको छ। लुटेराहरुले नौ ओटा गहना लुटेको र एउटै सबैभन्दा महंगो गहनाको मूल्य एक करोड हङकङ डलर पर्ने जनाइएको छ।

लुटिएका गहनामा हीराको नेकलेस, ब्रासलेट र औँठीहरु रहेको प्रहरीले जनाएको छ।

लुटेराहरु बिना नम्बरप्लेटको मोटरसाइकल चढेर आएका थिए। मात्र १० सेकेण्डमा उनीहरु लुटपाट सकेर भागेको बताइएको छ। मध्यान्नसम्म सो काण्डमा प्रहरीले कसैलाई पनि पक्रेको छैन।

लुटेरा पत्ता लगाउन प्रहरीले सुरक्षा क्यामेरामा रेकर्ड भएका भिडियोहरु अध्ययन गरिरहेको छ। लुटेरामध्ये एकले हेलमेट र दुईले मास्क लगाएको जनाइएको छ।

छ महिनाअघि सोही क्षेत्रमा एक लुटेराले डिस्प्ले विन्डो फुटाएर ५० लाख हङकङ डलरबराबरको हीराको औँठी लुटेको थियो।

सोमबार राती प्रहरीले किम्बर्ली रोडमा एक घडी पसल लुट्न खोज्ने ६ जनालाई प्रहरीले समातेको थियो। एससिएमपी