विवादपछि एनभिडियाका सीईओ जेन्सेन हुआङले दिए राजीनामा

विवादपछि एनभिडियाका सीईओ जेन्सेन हुआङले दिए राजीनामा

काठमाडौं । महिलासँगको विवाहेत्तर सम्बन्धको विषयलाई लिएर विवादमा परेका प्रविधि कम्पनी एनभिडियाका सीईओ जेन्सेन हुआङले कम्पनीमा सम्हाल्दै आएका नेतृत्वसम्बन्धी पदबाट राजीनामा दिएका छन्।

कम्पनीको सञ्चालक समितिले यसबारे घोषणा गरेको हो। समितिका अनुसार कोलेट क्रेसले अन्तरिम सीईओको जिम्मेवारी सम्हाल्न सहमति जनाएकी छन्। उनी यसअघि कम्पनीको कार्यकारी उपाध्यक्ष तथा प्रमुख वित्तीय अधिकृत (सीएफओ) का रूपमा कार्यरत थिइन्।

सञ्चालक समितिका सदस्य हार्भे जोन्सले विज्ञप्ति जारी गर्दै क्रेसले एनभिडियाको असाधारण व्यावसायिक वृद्धिमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन्। उनले क्रेसलाई कम्पनीको व्यवसाय, ग्राहक, सञ्चालन तथा वित्तीय अवस्थाबारे गहिरो जानकारी रहेको उल्लेख गरेका छन्।

यसैबीच, हार्भे जोन्स सञ्चालक समितिको पहिलो अध्यक्षमा निर्वाचित भएका छन्।

दुई महिलासँग विवाहेत्तर सम्बन्ध रहेको खबर सार्वजनिक भएपछि हुआङ विवादमा तानिएका थिए। तीमध्ये एक महिला चिनियाँ जासुस हुन सक्ने दाबीसमेत सार्वजनिक भएको थियो।

ताइवानमा जन्मिएका ६३ वर्षीय हुआङ सन् १९९३ मा एनभिडियाका सहसंस्थापक बनेका थिए। त्यसयता उनले कम्पनीको नेतृत्व गर्दै एनभिडियालाई विश्वकै मूल्यवान प्रविधि कम्पनीमध्ये एक बनाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए।

प्रविधि क्षेत्रमा चर्चित व्यक्तित्वका रूपमा परिचित हुआङको अनुमानित कुल सम्पत्ति १४५ अर्ब अमेरिकी डलर रहेको बताइएको छ।

एनभिडिया अत्याधुनिक कम्प्युटर चिप उत्पादन गर्ने विश्वकै अग्रणी कम्पनीमध्ये एक हो। यसका चिपहरू भिडियो गेम, क्लाउड सर्भर र विशेषगरी कृत्रिम बौद्धिकता (एआई) प्रविधिमा प्रयोग हुँदै आएका छन्। कम्पनीको बजार मूल्य ४० खर्ब अमेरिकी डलरभन्दा बढी रहेको छ।

केही दिनअघि एलिस हुआङसँगको विवाहेत्तर सम्बन्धबारे समाचार सार्वजनिक भएको थियो। त्यसपछि हुआङले एनभिडियाका कर्मचारीलाई पठाएको माफीपत्रमा आफूबाट वैवाहिक निष्ठा भङ्ग भएको स्वीकार गरेको बताइएको छ।

विवाद सार्वजनिक भएपछि एनभिडियाको सेयर मूल्यमा समेत गिरावट आएको समाचारमा उल्लेख छ।