

-पुरुषोत्तम सुवेदी-
पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१४ र १८ का बासिन्दालाई स्वच्छ तथा सहज खानेपानी उपलब्ध गराउने उद्देश्यले अमरौट–धरमपुर खानेपानी आयोजना निर्माण प्रक्रिया अघि बढेको छ। १८ करोड रुपैयाँभन्दा बढी लागतमा निर्माण हुन लागेको आयोजनाका लागि सम्बन्धित निकायबीच त्रिपक्षीय सम्झौता भएको छ।
आयोजना कार्यान्वयनका लागि रामग्राम नगरपालिका, खानेपानी तथा ढल व्यवस्थापन कार्यालय बुटवल र मिलिजुली खानेपानी तथा सरसफाइ उपभोक्ता समितिबीच सम्झौता भएको हो। लामो समयदेखिको प्रयासपछि आयोजना निर्माणको चरणमा पुगेको जनाइएको छ।
रामग्राम नगरपालिकाका प्रशासकीय अधिकृत खेमराज ढकालले सम्झौता भएसँगै आयोजनाको कार्यान्वयन प्रक्रिया तीव्र पारिने बताए।
“आयोजना निर्माणको सम्झौता भएसँगै अब कार्यान्वयनको प्रक्रिया तीव्र पारिनेछ। उपभोक्ता समिति र सम्बन्धित प्राविधिक टोलीसँग समन्वय गरी निर्माण कार्य निर्धारित समयभित्रै सम्पन्न गराउन नगरपालिकाको प्रशासनिक संयन्त्र पूर्ण रूपमा परिचालन हुनेछ,” उनले भने।
उनका अनुसार आयोजना सम्पन्न भएपछि स्थानीयस्तरमा स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्न महत्वपूर्ण योगदान पुग्नेछ। नगर प्रमुख धनपत यादवले वडा नं. १४ र १८ का बासिन्दाले वर्षौँदेखि भोग्दै आएको खानेपानीको समस्या समाधान गर्न आयोजना महत्वपूर्ण हुने बताए।
“वडा नं. १४ र १८ का बासिन्दालाई वर्षौँदेखि रहँदै आएको खानेपानीको समस्याबाट मुक्ति दिलाउन यो आयोजना कोसेढुङ्गा साबित हुनेछ। स्थानीय बासिन्दालाई घरघरमै स्वच्छ र गुणस्तरीय खानेपानी पुर्याउने हाम्रो प्रतिबद्धता पूरा हुने दिशामा यो ठूलो सफलता हो,” यादवले भने।
उनले आयोजना तोकिएको समयमै गुणस्तरीय रूपमा सम्पन्न गर्न नगरपालिकाले आवश्यक सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता जनाए। प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले स्थानीय तह, विषयगत कार्यालय र उपभोक्ता समितिको लागत साझेदारीमा सञ्चालन हुन लागेको आयोजना सार्वजनिक सहभागिताको उदाहरण भएको बताए।
“योजनाको प्रशासनिक, प्राविधिक तथा वित्तीय पारदर्शिता कायम राख्दै निर्माण कार्यलाई द्रुत गतिमा अघि बढाउन हामी प्रतिबद्ध छौँ। तोकिएको मापदण्डअनुसार काम सम्पन्न गराउन नियमित अनुगमन गरिनेछ,” उनले भने। आयोजना सम्पन्न भएपछि यस क्षेत्रका हजारौँ बासिन्दा स्वच्छ तथा सुरक्षित खानेपानीको पहुँचमा पुग्ने अपेक्षा गरिएको छ।