

काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्से ५.३० अंकले घटेको छ। अघिल्लो दिन १९.१३ अंक घटेको बजार मंगलबार पनि ओरालो लाग्दै २ हजार ५९४ विन्दुमा कायम भएको हो।
घटेको बजारमा कारोबार रकम भने बढेको छ। सोमबार ३ अर्ब २३ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ४ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ। आज ७८ कम्पनीको सेयर मूल्य बढ्दा १८७ कम्पनीको घटेको छ भने १२ कम्पनीको मूल्य स्थिर रह्यो।
समूहतर्फ विकास बैंक र निर्जीवन बीमा मात्रै बढेका छन्। विकास बैंक ०.०८ प्रतिशत र निर्जीवन बीमा समूह ०.३६ प्रतिशत बढे। फाइनान्स ०.९१, होटल तथा पर्यटन ०.७१ र जलविद्युत् ०.४२ प्रतिशत घटेका छन्।
समूहगत कारोबारमा हाइड्रोपावर समूह अगाडि रह्यो। यस समूहमा मात्रै २ अर्ब ४९ करोड रुपैयाँ, अर्थात् कुल कारोबारको करिब ६०.६६ प्रतिशत कारोबार भएको छ। वाणिज्य बैंकमा ३२ करोड र उत्पादन तथा प्रशोधन समूहमा ३८ करोड रुपैयाँ बराबरको कारोबार भयो।
हालै सूचीकृत सर्वोत्तम पेन्ट्सको सेयर मूल्य १४.९९ प्रतिशत बढेको छ। क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स १४.९५ प्रतिशत, नाडेप लघुवित्त ६ प्रतिशत र एभरेस्ट कलर ५.७१ प्रतिशत बढेका छन्।
यता धौलागिरि लघुवित्तको सेयर मूल्य १०.०७ प्रतिशत घटेको छ। उन्नती सहकार्य लघुवित्त ४.२३ प्रतिशत र रिजलाइन इनर्जी ३.८६ प्रतिशत घटेका छन्।
कारोबार रकमका आधारमा मकर जितुमाया सुरी हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर, रिडी पावर, आँखुखोला जलविद्युत् कम्पनी र चन्द्रागिरि हिल्स अगाडि रहे।