बजेट विवादले सुदूरपश्चिम सरकार संकटमा, मुख्यमन्त्री शाह फर्किए धनगढी

बजेट विवादले सुदूरपश्चिम सरकार संकटमा, मुख्यमन्त्री शाह फर्किए धनगढी

धनगढी । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई लिएर सत्ता साझेदार नेकपा (एमाले) नै फरक अडानमा उभिएपछि सुदूरपश्चिम प्रदेश सरकार गम्भीर राजनीतिक संकटमा परेको छ। बजेटमाथि एमालेले खर्च कटौतीको प्रस्ताव दर्ता गरेपछि निकास खोज्न काठमाडौं पुगेका मुख्यमन्त्री कमलबहादुर शाह बिना ठोस सहमति धनगढी फर्किएका छन्।

मुख्यमन्त्री शाहले कांग्रेस सभापति गगनकुमार थापासँग छलफल गरेका थिए भने एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने प्रयास गरे पनि भेट हुन सकेन। स्रोतका अनुसार ओलीले समय नदिएपछि शाह निराश हुँदै बुधबार धनगढी फर्किएका हुन्।

काठमाडौंमा भएको छलफलका क्रममा सभापति थापाले मुख्यमन्त्रीलाई धनगढी फर्किन आग्रह गर्दै एमाले र नेकपाका शीर्ष नेतासँग थप संवादमार्फत समाधान खोज्ने आश्वासन दिएका थिए।

संविधानअनुसार प्रदेशको बजेट असार मसान्तभित्र पारित गरिसक्नुपर्ने व्यवस्था छ। तर सत्ता साझेदार एमालेले खर्च कटौतीको प्रस्ताव फिर्ता नलिने अडान लिएपछि बजेट समयमै पारित हुने सम्भावना कमजोर बन्दै गएको छ।

एमालेका एक प्रदेश सांसदले खर्च कटौतीको प्रस्ताव पार्टीको केन्द्रीय निर्णयअनुसार दर्ता गरिएको भन्दै कुनै पनि अवस्थामा फिर्ता नहुने स्पष्ट पारे। उनका अनुसार वर्तमान बजेट प्रदेशको हितमा नरहेको निष्कर्षसहित एमाले यसलाई स्वीकार गर्ने पक्षमा छैन।

यसैबीच, प्रमुख प्रतिपक्षी नेकपाले पनि बजेटविरुद्ध खर्च कटौतीको प्रस्ताव दर्ता गरिसकेको छ। संसदीय दलका नेता खगराज भट्टले यसअघि नै सरकारको बजेट असफल बनाउन आफ्नो दल पूर्ण रूपमा सक्रिय रहने बताएका थिए।

बजेट पारित हुने सम्भावना कमजोर बन्दै जाँदा सुदूरपश्चिम प्रदेश ‘बजेट होलिडे’ को जोखिममा पुगेको छ। यस्तै, सत्ता गठबन्धनभित्रको विवादले प्रदेश सरकारको भविष्यसमेत अन्योलमा परेको छ।