रोनाल्डोको ऐतिहासिक कीर्तिमान, पोर्चुगल ५-० को शानदार जितसहित शीर्ष स्थानमा

रोनाल्डोको ऐतिहासिक कीर्तिमान, पोर्चुगल ५-० को शानदार जितसहित शीर्ष स्थानमा

काठमाडौं । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले फिफा विश्वकप इतिहासमा नयाँ कीर्तिमान कायम गरेका छन्। उज्बेकिस्तानविरुद्ध दुई गोल गर्दै उनी विश्वकपका छवटै संस्करणमा गोल गर्ने पहिलो खेलाडी बनेका छन्।

फिफा विश्वकप–२०२६ अन्तर्गत ह्युस्टनमा सम्पन्न समूह ‘के’ को खेलमा पोर्चुगलले उज्बेकिस्तानलाई ५–० गोलअन्तरले पराजित गरेको हो। रोनाल्डोको दुई गोलको मद्दतमा पोर्चुगलले प्रभावशाली जित दर्ता गरेको हो।

खेलको छैटौँ मिनेटमै जोआओ क्यान्सेलोको क्रसलाई सदुपयोग गर्दै रोनाल्डोले गोल गरे। यससँगै ४१ वर्षीय रोनाल्डो विश्वकपमा गोल गर्ने दोस्रो सबैभन्दा पाका खेलाडीसमेत बने। यो सूचीमा क्यामरुनका रोजर मिल्ला शीर्ष स्थानमा छन्, जसले ४२ वर्षको उमेरमा विश्वकप गोल गरेका थिए।

पोर्चुगलका लागि १७औँ मिनेटमा नुनो मेन्डेसले फ्रिकिकमार्फत दोस्रो गोल थपे। ३९औँ मिनेटमा ब्रुनो फर्नान्डेजको उत्कृष्ट पासमा रोनाल्डोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै खेललाई एकतर्फी बनाए।

दोस्रो हाफमा उज्बेकिस्तानका गोलरक्षक अब्दुभोहिद नेमातोभबाट आत्मघाती गोल भएपछि पोर्चुगल ४–० ले अघि बढ्यो। खेलको ८७औँ मिनेटमा वैकल्पिक खेलाडी राफाएल लियाओले अर्को गोल थप्दै ५–० को फराकिलो जित सुनिश्चित गरे।

प्रतियोगिताको पहिलो खेलमा डीआर कङ्गोसँग १–१ को बराबरी खेलेको पोर्चुगलले दोस्रो खेलमा उत्कृष्ट पुनरागमन गर्दै समूहको शीर्ष स्थान कब्जा गरेको छ।

रोनाल्डोले अब विश्वकपमा कुल १० गोल पूरा गरेका छन्। उनले सन् २००६, २०१०, २०१४, २०१८, २०२२ र २०२६ गरी छवटै विश्वकप संस्करणमा गोल गर्ने दुर्लभ उपलब्धि हासिल गरेका हुन्।

विश्वकपमा यो उनको २४औँ खेल थियो। उनीभन्दा बढी विश्वकप खेल्ने खेलाडीमा अर्जेन्टिनाका लियोनल मेस्सी (२८ खेल) र जर्मनीका लोथार म्याथाउस (२५ खेल) मात्र रहेका छन्।

यसअघि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले अस्ट्रियाविरुद्ध दुई गोल गर्दै विश्वकप इतिहासमा सर्वाधिक गोलकर्ता बन्ने कीर्तिमान बनाएका थिए। मेस्सीको नाममा हाल १८ विश्वकप गोल रहेको छ।