

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको सभापति पदका लागि उम्मेदवारी दर्ता गरेका छन्। उनको उम्मेदवारीमा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रस्तावक बनेका छन्। चितवनमा जारी रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत मंगलबार उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएको हो। यससँगै केन्द्रीय सदस्य पदका लागि मनोनयन फाराम वितरणको कार्य पनि अघि बढाइएको छ।
रास्वपाको विधानअनुसार सभापति र वरिष्ठ नेताको पदका लागि केन्द्रीय सदस्य निर्वाचित हुन आवश्यक पर्दैन। तर अन्य ९९ जना पदाधिकारी तथा सदस्य भने केन्द्रीय सदस्यमा निर्वाचित हुनुपर्ने व्यवस्था रहेको छ। केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार पहिलो चरणको मतदान बुधबारदेखि सुरु हुनेछ। पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यहरूको निर्वाचन गरिनेछ।
निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतदान सम्पन्न भएको दुई घण्टापछि मतगणना सुरु गरिनेछ र सोही चरणको मतपरिणाम सार्वजनिक गरिनेछ। मतदानको समय भने हालसम्म सार्वजनिक गरिएको छैन। रास्वपाको पहिलो महाधिवेशनलाई पार्टीको भावी नेतृत्व चयन र संगठनात्मक संरचना निर्माणका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ। सभापति पदमा रवि लामिछानेको उम्मेदवारीसँगै महाधिवेशनको राजनीतिक र संगठनात्मक गतिविधि थप तीव्र बनेको छ।