रास्वपाको बन्द सत्र आजका लागि स्थगित

रास्वपाको बन्द सत्र आजका लागि स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत हुने भनिएको बन्द सत्र आजका लागि स्थगित गरिएको छ।

महाधिवेशन प्रतिनिधिको संख्या तथा सूचीमा देखिएको विवाद र मधेश प्रदेशबाट आएका प्रतिनिधिसम्बन्धी असन्तुष्टिका कारण बन्द सत्र निर्धारित समयमा सुरु हुन नसकेको हो।

पार्टी स्रोतका अनुसार प्रतिनिधि थपघट र प्रतिनिधित्वसम्बन्धी विवाद समाधान गर्न आवश्यक परेपछि आजका लागि तय गरिएका बन्द सत्रका कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको हो। विवादित विषयमा सहमति जुटाएर मात्र बन्द सत्र अघि बढाइने तयारी गरिएको बताइएको छ।

बन्द सत्रमा सहभागी हुन देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरू बिहानैदेखि स्थलमा उपस्थित भए पनि दिनभरको प्रतीक्षापछि कार्यक्रम सञ्चालन हुन सकेन। अन्ततः नेतृत्वले विवाद समाधानलाई प्राथमिकता दिँदै बन्द सत्र स्थगित गरेको हो।

रास्वपाको महाधिवेशनले नयाँ नेतृत्व चयन, विधान संशोधन तथा पार्टीको भावी राजनीतिक दिशा तय गर्ने भएकाले प्रतिनिधित्वसम्बन्धी विषयलाई मिलाएर प्रक्रिया अगाडि बढाउने तयारी गरिएको जनाइएको छ।