

काठमाडौं । गृहमन्त्री सुधन गुरुङविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा मानव अधिकार उल्लंघनको आरोप लगाउँदै उजुरी दर्ता गरिएको छ।
सोमबार (असार ८) अजय सोडारी, प्रकाश बम र सुजन पौडेलले संयुक्त रूपमा आयोगको केन्द्रीय कार्यालयमा पुगेर उजुरी दर्ता गराएका हुन्। उनीहरूले हिरासत कक्षभित्र मानसिक दबाब, ज्यान मार्ने धम्की तथा गम्भीर मानव अधिकार हनन भएको दाबी गर्दै घटनाको यथार्थ छानबिन गर्न आयोगसँग माग गरेका छन्।
उजुरीमा जेठ १९ गते गृहमन्त्री गुरुङ नेतृत्वको टोली काठमाडौंस्थित सोह्रखुट्टे प्रहरी वृत्तको हिरासतमा पुगेर आफूहरूलाई धम्की दिएको आरोप लगाइएको छ। उक्त घटनाको सत्यतथ्य पत्ता लगाउन स्थलगत अनुगमन तथा निष्पक्ष अनुसन्धान गर्न आयोगलाई आग्रह गरिएको छ।
उजुरीकर्ताहरूले घटनासँग सम्बन्धित सम्पूर्ण सीसीटीभी फुटेज, आगन्तुक अभिलेख (भिजिटर लग) तथा ड्युटी रजिस्टर नियन्त्रणमा लिएर छानबिन अघि बढाउन पनि माग गरेका छन्।
त्यसैगरी, गृहमन्त्री गुरुङ र उनीसँगै हिरासतमा पुगेको भनिएको टोलीमाथि फौजदारी कसुर तथा मानव अधिकार उल्लंघनसम्बन्धी कानुनी कारबाही अगाडि बढाउनुपर्ने मागसमेत उजुरीमा गरिएको छ।
राष्ट्रिय मानव अधिकार आयोगले उजुरी दर्ता गरी आवश्यक प्रक्रिया अगाडि बढाउने जनाएको छ। हाल घटनाबारे थप अनुसन्धान र तथ्य संकलनको प्रक्रिया सुरु हुने अपेक्षा गरिएको छ।