रास्वपामा भएको सहमतिका हरेक बुँदा पालना गर्छु : रवि लामिछाने

रास्वपामा भएको सहमतिका हरेक बुँदा पालना गर्छु : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र भएका सहमतिका हरेक बुँदा इमान्दारितापूर्वक कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले पार्टीभित्र फूट ल्याउने र नेतृत्वबीच मतभेद सिर्जना गर्ने प्रयास भइरहे पनि त्यस्ता गतिविधि सफल नहुने बताए।

लामिछानेले नेपाली जनता र इतिहासलाई साक्षी राखेर गरिएको सहमतिको अक्षरशः पालना गर्ने प्रतिबद्धता व्यक्त गर्दै पार्टी एकताबद्ध रूपमा अघि बढ्ने बताए। उनले भने, “हामीले नेपाली जनता र इतिहासलाई साक्षी राखेर सहमति गरेका छौँ। त्यस सहमतिका हरेक शब्द र हरेक बुँदा पूर्ण इमान्दारिताका साथ पालना गर्ने प्रतिज्ञा गर्दछु।”

सभापति लामिछानेले रास्वपाको नेतृत्वमा दुई तिहाइ बहुमतको सरकार गठन भएको उल्लेख गर्दै सरकारका गतिविधिमाथि पार्टीले निरन्तर निगरानी गरिरहेको बताए।

प्रधानमन्त्री बालेन्द्र शाहलाई संकेत गर्दै उनले निर्वाचनअघि नै रास्वपाले आवश्यक राजनीतिक आधार तयार गरिसकेको दाबी गरे। अब देशलाई परिणाम दिने जिम्मेवारी प्रधानमन्त्रीको काँधमा रहेको उल्लेख गर्दै उनले विकास र सुशासनको अभियानलाई निरन्तरता दिनुपर्ने बताए।

उनले प्रधानमन्त्री शाहप्रति विश्वास व्यक्त गर्दै आवश्यक परे पार्टीले पुनः सहयोग र समर्थन गर्न तयार रहेको संकेत पनि गरे। लामिछानेले आफू कुनै व्यक्ति वा समूहलाई जवाफ दिन नभई इतिहासप्रति उत्तरदायी भएर बोलिरहेको उल्लेख गर्दै जनतासँग गरिएका प्रतिबद्धता पूरा गर्नु नै आफ्नो मुख्य उद्देश्य रहेको बताए।