विधि र संविधानको सीमाभित्र रहेर सुशासनका कदम चाल्नुपर्छ : वर्षमान पुन

विधि र संविधानको सीमाभित्र रहेर सुशासनका कदम चाल्नुपर्छ : वर्षमान पुन

चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले सुशासन र सुधारका नाममा चालिने कुनै पनि कदम विधि र संविधानको सीमाभन्दा बाहिर जान नहुने बताएका छन्।

चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सरकार र रास्वपालाई संविधानसम्मत ढंगले अघि बढ्न आग्रह गरे।

“थिति बसाउने उद्देश्यले चालिएका कदमहरू विधिसम्मत र संविधानको दायराभित्रै रहून् भन्ने विषयमा तपाईंहरूको पर्याप्त ध्यान पुग्नेछ भन्ने हाम्रो विश्वास छ,” पुनले भने।

उनले भ्रष्टाचार नियन्त्रण, सुशासन र पारदर्शिताको विषयमा रास्वपा र नेकपाबीच समान दृष्टिकोण रहेको उल्लेख गर्दै यी एजेन्डामा आफ्नो पार्टी सधैं सहकार्यका लागि तयार रहेको बताए।

पुनले विगतमा आफूहरू सरकारमा रहँदा र प्रतिपक्षमा हुँदा पनि सुशासनको पक्षमा निरन्तर काम गरेको दाबी गरे। उनले सुशासनका विषयमा नेकपा र रास्वपाबीच अन्य दलको तुलनामा बढी सहकार्य भएको पनि बताए।

“सुशासनको एजेन्डामा हामीबीच धेरै समानता छ। सरकारमा हुँदा होस् वा बाहिर हुँदा, हामीले यस विषयमा सहकार्य गर्दै आएका छौं,” उनले भने, “सुशासनको एजेन्डामा नेकपा र रास्वपाजतिको निकट सहकार्य सायद अन्य दलहरूबीच भएको छैन।”

पुनले सुशासन, पारदर्शिता र संस्थागत सुधारको अभियानमा रास्वपालाई आफ्नो पार्टीको पूर्ण समर्थन रहने प्रतिबद्धता पनि व्यक्त गरे।