राजावादीको मत पनि रास्वपालाई गएको छ : राजेन्द्र लिङ्देन

राजावादीको मत पनि रास्वपालाई गएको छ : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्थाको पक्षमा रहेका मतदाताको समर्थन पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राप्त गरेको बताएका छन्।

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लिङ्देनले केही मतदाताले बालेन शाहमार्फत राजसंस्था पुनर्स्थापना हुने अपेक्षासहित रास्वपालाई मत दिएको टिप्पणी गरे।

“राजा चाहिन्छ भन्ने मतदाताको भोट पनि तपाईंहरूलाई गएको छ,” उनले भने, “राजसंस्थाको पक्षमा रहेको पार्टी राप्रपा हुँदाहुँदै पनि बालेन शाहले राजा ल्याउँछन् भन्ने विश्वास गरेर कतिपयले तपाईंहरूलाई मत दिएका छन्। त्यसैले जनताको त्यो अपेक्षालाई सम्बोधन गर्ने विशेष जिम्मेवारी तपाईंहरूमाथि आएको छ।”

लिङ्देनले मुलुकका समस्या केवल नेतृत्वसँग मात्र सम्बन्धित नभई वर्तमान संविधान र संवैधानिक व्यवस्थासँग पनि जोडिएको दाबी गरे। उनले देशलाई सही दिशामा अघि बढाउन संविधानमा आवश्यक सुधार गर्नुपर्ने धारणा व्यक्त गरे।

“समस्या नेताहरूमा मात्र छैन, संविधान र वर्तमान व्यवस्थामा पनि छ,” उनले भने, “यो संविधानमा आवश्यक सुधार नगरी देशले अपेक्षित गति लिन सक्दैन। तपाईंहरूसँग ऐतिहासिक अवसर छ, त्यसलाई सदुपयोग गर्नुपर्छ।”

उनले राजनीतिक दलहरूले जनताको अपेक्षा र असन्तुष्टिलाई गम्भीर रूपमा सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याउँदै राष्ट्रिय सहमति र संस्थागत सुधारमार्फत मुलुकलाई अघि बढाउनुपर्ने बताए।